आज यी प्रदेशमा हुनेछ भारी वर्षा


काठमाडौं । देशका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ । केहीमा भने हावाहुरीको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मधेस र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागले राति देशभर अधिकांश बादल लाग्ने बताएको छ । हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका साथै सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोसी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थान तथा मधेस र गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । त्यसैले पूर्वी नेपालमा भन्दा पश्चिम नेपालमा वर्षा धेरै भइरहेको छ ।
मौसमविद् विनोद पोखरेल धेरै दिनदेखि मनसुनको प्रभाव उस्तै रहेको बताउँछन् । “पहाडी भेगमा राम्रो वर्षा हुँदा पनि तराईका अधिकांश ठाउँ सुक्खा नै छन्,” उनी फेसबुकमा लेख्छन्, “यो अवस्थामा मगलबार (आज)बाट अलि सुधार हँुदै मंगलबारदेखि तराईको धेरै ठाउँमा पानी पर्ने सम्भावना राम्रो छ ।”






















