परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु


कासाइ । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डिआर कङ्गो)को मध्य क्षेत्रमा राज्यस्तरीय परीक्षा दिएर घर फर्किरहेका विद्यार्थीहरू बोकेको काठको डुङ्गा डुब्दा कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार उक्त डुङ्गा शुक्रबार कासाइ प्रान्तमा पर्ने सान्कुरु र कासाइ नदीको सङ्गम क्षेत्रमा प्रवेश गर्ने क्रममा डुबेको हो ।
कासाइ प्रान्तको इलेबो क्षेत्रका प्रशासक फ्राँस्वा काबुलाले दुर्घटनापछि ८० जनाको उद्धार गरिएको र २० जनाको शव फेला परेको जानकारी दिए । तर डुङ्गा डुबेको प्रत्यक्ष देखेका चिकुडी जाँले एपी समाचार संस्थासँग कुरा गर्दै डुङ्गामा २०० भन्दा बढी यात्रु सवार रहेको दाबी गरे ।
इलेबो नागरिक समाज सङ्गठनका अध्यक्ष फ्राँस्वा मालेपोले डुङ्गा सञ्चालकहरूको लापरबाहीको कडा आलोचना गर्दै भने, ‘डिआर कङ्गोका डुङ्गा सञ्चालकहरू पैसामात्र कमाउन चाहन्छन्, उनीहरूलाई मानिसको जीवनको कुनै चिन्ता छैन ।’























