समाचार

आन्तरिक उडानमा घट्यो हवाई भाडा

नवलपुर टुडे
२०८३ असार १८ | बिहान ०५:०३ बजे

काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडा समायोजन गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि लागू हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको हो। प्राधिकरणका अनुसार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि हवाई भाडामा समावेश हुने ‘फ्यूल सरचार्ज’ समायोजन गरी नयाँ दर लागू गरिएको हो।

नयाँ फ्यूल सरचार्जअनुसार काठमाडौं–माउन्टेन फ्लाइटको शुल्क ९ हजार २३५ रुपैयाँबाट घटेर ७ हजार ८६० रुपैयाँ कायम भएको छ। काठमाडौं–भरतपुर रुटमा ६ हजार ८७५ रुपैयाँ तथा काठमाडौं–विराटनगर रुटमा ५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, नेपालगन्ज–भद्रपुर रुटको फ्यूल सरचार्ज १५ हजार ७२५ रुपैयाँबाट घटेर १३ हजार ३९० रुपैयाँ कायम गरिएको छ। काठमाडौं–धनगढी रुटमा १० हजार १२० रुपैयाँ, काठमाडौं–सुर्खेतमा ७ हजार ९१५ रुपैयाँ तथा काठमाडौं–पोखरा रुटमा ३ हजार ६३५ रुपैयाँ कायम गरिएको प्राधिकरणले जनाएको छ।

इन्धनको मूल्य समायोजनसँगै लागू गरिएको नयाँ भाडादर बुधबारदेखि नै कार्यान्वयनमा आएको छ।

 

कमेन्टहरु