क्यान्सर पीडित तारा भुजेललाई प्रवासी भुजेल समाज युएईद्वारा आर्थिक सहयोग


प्रवास दुवई, यूएई|
स्तन क्यान्सरबाट पीडित भई उपचाररत खोटाङ जिल्ला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निवासी तारा भुजेललाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले प्रवासी भुजेल समाज सेवा समिति, युएईले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
लामो समयदेखि स्तन क्यान्सरबाट पीडित तारा भुजेलको हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। परिवारको कमजोर आर्थिक अवस्थाका कारण आवश्यक शल्यक्रिया तथा उपचार खर्च जुटाउन कठिनाइ भएपछि पीडितकी बहिनी यशोदा भुजेलको पहलमा विभिन्न माध्यमबाट सहयोग अभियान सञ्चालन हुँदै आएको छ।
यसै क्रममा प्रवासी भुजेल समाज सेवा समिति, युएईले आफ्नो उद्धार तथा राहत कोषमार्फत सहयोग संकलन गरी रु. ५४,१५४ (चौवन्न हजार एक सय चौवन्न रुपैयाँ) पीडित परिवारलाई हस्तान्तरण गरेको हो।
समितिका अध्यक्ष हरिकुमार खवासले प्रवासमा रहेका नेपालीहरू केवल विदेशमा रहेका नेपालीहरूको समस्यामा मात्र सीमित नभई स्वदेशमा आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन बाध्य विपन्न तथा असहाय नागरिकहरूको सहयोगमा समेत निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँले यस्ता मानवीय अभियानले पीडित परिवारलाई राहत पुग्नुका साथै समाजमा सहयोग, सद्भाव र सहकार्यको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
समितिले आगामी दिनमा पनि आपत्–विपत्, रोग तथा आर्थिक समस्यामा परेका नेपालीहरूको सहयोगमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

परिवारका सदस्यहरूका अनुसार हालसम्म विभिन्न व्यक्ति, संघ–संस्था तथा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भइरहेको भए पनि आवश्यक शल्यक्रिया तथा थप उपचारका लागि अझै आर्थिक सहयोग आवश्यक रहेको छ। त्यसैले देश तथा विदेशमा रहनुभएका सहयोगी मन, सामाजिक संघ–संस्था तथा दाताहरूलाई मानवीय भावनाका साथ सहयोग गर्न अनुरोध गरिएको छ।





















