आज कुन–कुन प्रदेशमा हुनेछ वर्षा ?


काठमाडौं । देशका केही भूभागमा आज वर्षा हुनेछ । हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको हो । केही स्थानमा भने तातो दिन हुनेछ । मनसुन सबैतिर नफैलिँदा केही स्थानमा तातो दिन हुने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागका साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।
मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम सफा रहनेछ । हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस, वाग्मती र गण्डकी प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर चल्नेछ । वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।
विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा वाग्मती प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
हाल कोसी, मधेस र वाग्मती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ । अन्य भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।























