समाज

शिक्षा, कृषि र सुशासनमा केन्द्रित धनकौलको नीति तथा कार्यक्रम सार्वजनिक

नवलपुर टुडे
२०८३ असार १० | मध्यान्ह ०५:०३ बजे

सर्लाही, असार १० । धनकौल गाउँपालिकाको १७औँ गाउँसभा भव्य रूपमा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष राम आश्रय साहले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ४२ करोड ५५ लाख ३५ हजार रुपैयाँ बराबरको बजेटसहित शिक्षा, कृषि, पूर्वाधार विकास, सुशासन तथा आर्थिक समृद्धिलाई प्रमुख प्राथमिकतामा राखिएको बताएका छन्।

गाउँसभामा मधेश प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह, गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, कर्मचारी, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष साहले नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको भावना तथा “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षालाई आत्मसात् गर्दै स्थानीय तहको समृद्धि र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित कार्यक्रम ल्याइएको बताए। उनले शहीदहरूको योगदानको स्मरण गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, मानव अधिकार, सामाजिक न्याय र समावेशी विकासप्रति गाउँपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे।

अध्यक्ष साहका अनुसार सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, विकास आयोजनाको प्रभावकारी कार्यान्वयन गर्ने तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत आर्थिक गतिविधि विस्तार गर्ने नीति अवलम्बन गरिएको छ।

शिक्षा क्षेत्रमा व्यापक सुधार

गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै विद्यालयहरूलाई क्रमशः प्रविधिमैत्री तथा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने योजना अघि सारेको छ। प्रत्येक विद्यालयमा इन्टरनेट सेवा, ल्यापटप, प्रिन्टर तथा आवश्यक डिजिटल उपकरण उपलब्ध गराइने, विद्यालय प्रशासनलाई सफ्टवेयर प्रणालीमा आबद्ध गरिने तथा गुणस्तरीय शिक्षाका लागि आवश्यक वातावरण निर्माण गरिने नीति लिइएको छ।
त्यस्तै, विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक व्यवस्थापन गरिने, विषयगत शिक्षक अभाव भएका विद्यालयमा योग्य युवालाई स्वयंसेवक शिक्षकका रूपमा परिचालन गरी शिक्षासँगै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ। विद्यालय पूर्वाधार विकास, खेलकुद सामग्री, बेन्च–डेस्क, पंखा तथा अन्य शैक्षिक सामग्री व्यवस्थापनमा समेत विशेष ध्यान दिइने जनाइएको छ।

कृषि र आर्थिक समृद्धिमा विशेष जोड

कृषि उत्पादनको दृष्टिले सम्भावनायुक्त क्षेत्र रहेको धनकौल गाउँपालिकाले कृषिको व्यवसायीकरण, आधुनिक प्रविधिको प्रयोग, उत्पादन वृद्धि तथा किसानको आयआर्जन बढाउने कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलता विकास तथा रोजगारी सिर्जनामार्फत आर्थिक समृद्धिको आधार तयार गर्ने लक्ष्य नीति तथा कार्यक्रममा समेटिएको छ।

बहुवर्षीय योजनामार्फत दिगो विकास

गाउँपालिकाले गौरवका आयोजनाहरूलाई बहुवर्षीय योजनाका रूपमा सञ्चालन गर्ने नीति अवलम्बन गरेको छ। ठूला तथा महत्वपूर्ण विकास आयोजनाका लागि पर्याप्त बजेट सुनिश्चित गर्दै ठेक्का प्रक्रियामार्फत समयमै सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यसले विकास निर्माण कार्यलाई थप व्यवस्थित, प्रभावकारी तथा दिगो बनाउने अपेक्षा गरिएको छ।

गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, युवा तथा खेलकुद, महिला सशक्तीकरण, सामाजिक सुरक्षा, वातावरण संरक्षण तथा सुशासनका क्षेत्रलाई समेट्दै “समृद्ध, सक्षम र आत्मनिर्भर धनकौल” निर्माणको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्। उक्त जानकारी नेपाली कांग्रेस मधेश प्रदेश सूचना तथा सञ्चार विभागका सचिव निकेश त्रिपाठीले दिएका हुन्।

कमेन्टहरु