विराटनगर । विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । साधु बन्ने भन्दै मध्यरातमा परोपकार घाटको शव जलाउने स्थानमा पूजा गर्नेहरु पक्राउ परेका हुन् । सोमबार राति शव जलाउने स्थानमा अश्लील गतिविधि गर्ने विराटनगर –६ का ४० वर्षीय ४४ वर्षीय सुरेन्द्रमणि मण्डल र विराटनगर ४ का ४४ वर्षीय छबिलाल घिमिरे, सुनसरीको रामधुनी नगरपालिका– ६ का २५ वर्षीय कैलाश ढुंगाना र भोजपुरको रामप्रसाद राई गाउँपालिकाका– ६ का १८ वर्षीय मनिष काफ्ले पक्राउ परेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
यो समूहले आइतबार राति शव जलाउने स्थानमा बसेर आगो बालेर होहल्ला गर्दै पूजा गरेको थियो । आइतबार भने ६ जनाको समूह थियो । सोमबार राति पनि सोही गतिविधि दोहोह्रयाएपछि प्रहरीले पक्राउ गरेको हो । शव जलाउनका लागि तयार पारिएको चितामा आगो बालेर आइतबार ६ जना युवाले बसेर अश्लील हर्कत गरेका थिए । स्थानीयले खिचेको भिडियोमा देखिए अनुसार, तीमध्ये दुई जना युवा पूर्ण रूपमा निर्वस्त्र छन् । निश्वरत्र र अर्धनग्न अवस्थामा रहेकाहरुले एकअर्कालाई धकेलाधकेल गर्दै अश्लील शब्द प्रयोग गरेर गालीगलौज गरिरहेका छन् ।
टाउकोमा कालो कपडाको फेटा बाँधेका उनीहरूले चितास्थलको खरानी टिपेर एकअर्काको जीउमा दल्ने र अनौठा हर्कतहरू गरिरहेको देखिन्छ । उनीहरुले चितास्थलमा माटोको घैला, पानीका बोतल, दाउरा र अन्य सामग्री राखेका थिए । घाटमा भएको यो घटना देखेपछि स्थानीयबासी त्रसित बनेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङमा प्रवक्ता मिश्र नसाको सुरमा बाबा बन्ने भन्दै अश्लील हर्कत गरेको देखिएपछि नियन्त्रणमा लिइएको बताए । ‘आइतबार अश्लील हर्कत गरेको कुरा आएको थियो, सोमबार पनि त्यस्तै गर्ने तयारी गरेको देखिएपछि नियन्त्रमा लिएका छौ’, उनले भने,‘ मदिराको नसामा अश्लील हर्कत गरेको देखिन्छ ।’
उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।


























