मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च


काठमाडौँ । राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या बढेको छ । मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुगेको छ ।
मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका समस्याग्रस्त बाघलाई उद्धार गरी खोरमा राख्ने गरिएको छ । चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज तथा ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना पाँच–पाँच, बाँके राष्ट्रिय निकुञ्जमा एक बाघ खोरमा राखिएका छन् । दुःखमा परेका बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनि ठूलो रकम खर्च हुँदै आएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले अध्ययन गरी समस्यामा परेका बाघको व्यवस्थापनका लागि चितवनको देवनगरमा ‘टाइगर सेन्चुरी’ योजना अघि बढाएको छ ।
मन्त्रालयले कठिनाइमा परेका बाघको संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा मन्त्रालय, वन तथा भूसंरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लन्डन (जेडएसएल) नेपालका प्रतिनिधि छन् ।
कार्यदलले अध्ययन गरी ‘टाइगर सेन्चुरी’का विभिन्न अवधारणासहित गत चैतमा मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा चितवनको देवनगरमा ‘टाइगर सेन्चुरी’ योजना कार्यान्वयनका लागि सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा रु तीन करोड बजेटसमेत विनियोजन गरेको छ ।
वनमन्त्री गीता चौधरीले सोमबार चितवनको देवनगरमा प्रस्तावित ‘टाइगर सेन्चुरी’ निर्माणस्थलको स्थलगत अवलोकन गरेकी थिइन्। हाल देशभर १६ समस्याग्रस्त बाघ ‘इन्क्लोजर’मा राखिएको छ । तिनको व्यवस्थापन खर्चिलो बन्दै गएको पृष्ठभूमिमा सरकारले देवनगरमा करिब ५२ हेक्टर क्षेत्रफलमा ‘टाइगर सेन्चुरी’ बनाउने योजना अघि बढाएको हो ।
प्रतिबद्धताभन्दा बाघको सङ्ख्या तेब्बरले वृद्धि
निकुञ्ज विभागका महानिर्देशक डा बृद्धिसागर पौडेलले पशुअधिकार र कल्याणका लागि पनि यो एकीकृत योजना ल्याउनुपरेको बताए । उनले यस योजनाले मुलुकको पर्यापर्यटनमा समेत योगदान दिने जानकारी दिए ।
पाटेबाघ विश्वका १३ देशमा पाइन्छन् । बाघ पाइने मुलुकका सरकार तथा राष्ट्रप्रमुखको सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको छ ।
सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको निकुञ्ज विभागका महानिर्देशक डा पौडेलले जानकारी दिनुभयो । नेपालले २०६७ सालदेखि बाघ दिवस मनाउँदै हरेक चार वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ ।
























