बिश्व

तेल बोकेका तीन भारतीय जहाजले पार गरे होर्मुज

एजेन्सी
२०८३ असार ७ | मध्यान्ह ०३:०३ बजे

नयाँ दिल्ली । स्ट्रेट अफ होर्मुजमा लामो समयदेखि जारी तनावका बिचमा भारतले ठुलो राहत पाएको छ । भारतीय झन्डावाहक तीन ट्याङ्करहरू देश वैभव, देश विभोर र सन्मार हेराल्ड ८ दशमलव ६ लाख मेट्रिक टनभन्दा बढी कच्चा तेल बोकेर सुरक्षित रूपमा भारत फर्किरहेका छन् ।

केन्द्रीय बन्दरगाह, ढुवानी र जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले इन्स्टाग्राममा एक पोस्टमा लेखेका छन्, ‘सुरक्षित मार्ग भेटियो ! भारतीय चालक दलका ९४ सदस्यसहित ८ दशमलव ६ लाख मेट्रिक टनभन्दा बढी कच्चा तेल बोकेका तीन भारतीय झन्डावाहक ट्याङ्कर देश वैभव, देश विभोर र सन्मार हेराल्ड आज सफलतापूर्वक स्ट्रेट अफ होर्मुज पार गरेका छन् र भारत आउँदैछन् ।’

अधिकारीहरूका अनुसार यी जहाज जुन २४ देखि जुलाई १ सम्म भारतीय बन्दरगाहमा आइपुग्ने अपेक्षा गरिएको छ । यसलाई भारतको ऊर्जा क्षेत्रको लागि एक महत्त्वपूर्ण आपूर्ति श्रृंखला सञ्चालन मानिन्छ ।

देश वैभव २४ जुनमा वाडीनार बन्दरगाहमा आइपुग्ने अपेक्षा गरिएको छ भने देश विभोर सोही दिन सिक्का बन्दरगाहमा आइपुग्ने अपेक्षा छ । २० जुन मा स्ट्रेट अफ होर्मुज पार गरेको तेस्रो जहाज सनमार हेराल्ड जुलाई १ मा पारादीप बन्दरगाह आइपुग्नेछ ।

कमेन्टहरु