राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै


कैलाली । कैलालीमा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई नयाँ प्रविधिसँगै जोडेको छ।जिल्लामा सञ्चालित ‘गहुँ सुपरजोन’, ‘तेलहन जोन’, ‘धान जोन’ र ‘माछा जोन’ कार्यक्रममा विभिन्न आधुनिक यन्त्र उपकरणमार्फत किसानलाई नयाँ प्रविधिसँगै जोड्दै लगेको हो।
धान रोप्ने यन्त्रले रोपाइँमा धेरै सहज हुन थालेको उक्त सहकारी संस्थाका अध्यक्ष विजयकुमार कठरियाले बताए। उनले भने, “ धान रोप्ने कामदार पाउन समस्या छ। रोपाहारले धान रोप्दा महँगो पर्छ, समय पनि बढी लाग्छ । यन्त्रले काम छिटो हुन्छ, लागत पनि कम लाग्छ ।”
त्यसैगरी, भजनी नगरपालिका–६ नवलपुरस्थित शुभकामना सामुदायिक कृषक समूहलाई चक्लाबन्दीमा चैतेधान कार्यक्रममा कृषि यान्त्रीकरणअन्तर्गत ५० प्रतिशत अनुदानमा तीन वटा पावर टिलर, आठ ओटा सिँचाइ मोटर, तीन वटा डिजल इन्जिन, एउटा रोटाभेटर, विषादी, डेलिभरी पाइपलगायतका सामान वितरण गरिएको कार्यालय प्रमुख रिमालले जानकारी दिए।
मासु निर्यातका लागि राँगा/भैँसी प्रवर्द्धन कार्यक्रम, युवा लक्षित पशुपन्छी तथा उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत विभिन्न क्रियाकलाप गरिएको पनि बताए। एकाइको अनुदान सहयोगमा जिल्लामा भएका विभिन्न कार्यक्रमहरुको शनिबार जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीकाकुमारी चौधरीको नेतृत्वमा सरोकार भएका अन्तरनिकाय संयुक्त अनुमन टोलीले अनुगमन गरेको थियो।
अनुगमनपछि प्रतिक्रिया दिँदै समन्वय समिति प्रमुख चौधरीले राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले समयानुकुल यन्त्र औजार वितरण गरेर किसानलाई सहज बनाएको बताए।
जिल्लामा गहुँ सुपरजोन आर्थिक वर्ष २०७३/७४, तेलहन जोन आव २०७४/७५, धान जोन आव २०७८/७९ र माछा जोन आव २०८१/८२ मा सुरु भएको थियो। एकाइले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, विषादी, यन्त्र उपकरणलगायत सामग्री वितरण गर्दै आएको छ।























