माधवनारायण नगरपालिकाले ल्यायो ५० करोडभन्दा बढीको बजेट


रौतहट, असार १। रौतहटको माधवनारायण नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५० करोड २९ लाख २० हजार ३६३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाका प्रमुख बैजनाथ प्रसाद यादवले सोमबार आयोजित ११औँ नगरसभा (नगर अधिवेशन) मार्फत आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्। नगरपालिकाले जिल्लामै सबैभन्दा पहिले नगरसभा सम्पन्न गर्दै आगामी वर्षका विकास तथा सेवा प्रवाहका प्राथमिकता सार्वजनिक गरेको जनाएको छ।
प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, सामाजिक सुरक्षा तथा रोजगारी प्रवर्द्धन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको नगर प्रमुख यादवले जानकारी दिए। उनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै जनमुखी तथा दिगो विकासका कार्यक्रम कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।
नगरसभामा जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। नगर प्रमुख यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नगरवासीको जीवनस्तर उकास्ने लक्ष्य लिइएको बताए।
माधवनारायण नगरपालिकाले जिल्लामै सबैभन्दा पहिले ११औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको हो।






















