रौतहटमा ‘जेष्ठ नागरिक प्रति हुने दुर्व्यवहार विरुद्धको २१औँ विश्व चेतना दिवस’ मनाइयो


गौर, रौतहट । जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहार अन्त्य गर्ने उद्देश्यले ‘जेष्ठ नागरिक प्रति हुने दुर्व्यवहार विरुद्धको २१औँ विश्व चेतना दिवस’ को अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहटमा विशेष कार्यक्रम आयोजना गरिएको छ। मिति २०८३ साल असार १ गते बिहान ११:०० बजे जिल्ला प्रहरी कार्यालय रौतहटको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल ले ३१ जना जेष्ठ नागरिकलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो।
कार्यक्रममा जेष्ठ नागरिकहरूको सम्मान, सुरक्षा तथा अधिकार संरक्षणका विषयमा अन्तरक्रिया गरिएको थियो। साथै, जेष्ठ नागरिकमाथि हुने विभिन्न प्रकारका दुर्व्यवहार, त्यसका असर तथा न्यूनीकरणका उपायबारे सहभागीहरूबीच छलफल भएको थियो। यस वर्षको अन्तर्राष्ट्रिय नारा “Beyond Awareness; Making Elder Abuse Prevention Work” लाई आत्मसात गर्दै आयोजित कार्यक्रममा जेष्ठ नागरिकप्रति सम्मान, संरक्षण र उनीहरूको गरिमामय जीवन सुनिश्चित गर्न सबै सरोकारवाला पक्षको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइएको थियो।
कार्यक्रममा उपस्थित जेष्ठ नागरिकहरूले सम्मानप्रति खुशी व्यक्त गर्दै समाजमा जेष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानको कदर हुनुपर्ने धारणा राखेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटले यस्ता कार्यक्रममार्फत जेष्ठ नागरिकको अधिकार संरक्षण तथा उनीहरूमाथि हुने दुर्व्यवहार रोकथामका लागि जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।





















