बिश्व

दिल्लीमा ५ घण्टा ‘कक्रोच’ विद्रोह, ६ जना पक्राउ

एजेन्सी
२०८३ जेष्ठ २४ | बिहान ०५:०२ बजे

काठमाडौं ।भारतमा चर्चामा रहेको निट परीक्षाको प्रश्नपत्र लीक भएको विरोधमा शनिबार नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) ले ५ घण्टा लामो विरोध प्रदर्शन गरेको छ।

पार्टीका संस्थापक अभिजीत दीपकेले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनको घोषणा गरेका हुन्।

प्रदर्शनलाई सम्बोधन गर्दै संस्थापक अभिजीतले शिक्षा मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् । उनले मन्त्री प्रधानलाई राजीनामाका लागि ५ दिनको अल्टिमेटम दिँदै माग पूरा नभए आगामी शनिबार पुनः जन्तर–मन्तरमा विशाल प्रदर्शन गर्ने चेतावनी दिएका छन्।

सीजेपीलाई शनिबार बेलुका ५ बजेसम्म प्रदर्शन गर्ने अनुमति दिइएको भए पनि संस्थापक अभिजीत र सामाजिक अभियन्ता सोनम वाङ्गचुक दिउँसो करिब ३ बजे नै धर्नास्थलबाट बाहिरिएका थिए।

उनीहरू बाहिरिएसँगै आज दिनको प्रदर्शन समापन भएको थियो। पार्टीका संस्थापक अभिजीत शनिबार बिहान मात्रै अमेरिकाबाट दिल्ली आइपुगेका थिए। उनी विमानस्थलबाट सिधै प्रदर्शनस्थल पुगेका थिए।

प्रदर्शनका क्रममा उनले डा. भीमराव अम्बेडकरको आत्मवृत्तान्त र भारतको संविधानको प्रति हातमा लिएका थिए। प्रदर्शनमा चर्चित सामाजिक अभियन्ता सोनम वाङ्गचुकको पनि ऐक्यबद्धता रहेको थियो।

उनीसँगै सीजेपीका प्रवक्ता आशुतोष रांका पनि सहभागी थिए। आईआईटी कानपुरबाट दीक्षित रांका गत वर्ष मात्र लण्डनबाट भारत फर्किएका हुन्। उनीहरूले शैक्षिक क्षेत्रमा भएको यो अनियमितताले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको टिप्पणी गरे।

प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली प्रहरीले सुरक्षा व्यवस्था अत्यन्त कडा पारेको थियो। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, मुख्य रेलवे स्टेसन, बस स्टेसन र दिल्लीका सीमा नाकाहरूमा सुरक्षा जाँच बढाइएको थियो।

सुरक्षाका लागि १ हजारभन्दा बढी प्रहरी जवानहरू तोकिएका स्थानमा तैनाथ गरिएका थिए। साथै, संवेदनशील क्षेत्रहरूमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले विशेष सतर्कता अपनाएको थियो।

प्रदर्शनका क्रममा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। प्रदर्शनकारी र विरोधी समूहबीच झडप वा तनाव हुनसक्ने सूचना प्राप्त भएपछि एहतियाती रूपमा उनीहरूलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ।

अभिजीतले आफ्नो अडान दोहोर्‍याउँदै भनेका छन्, ‘कक्रोच जनता पार्टी आफ्नो मागमा अडिग छ, शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले ५ दिनभित्र राजीनामा दिनुपर्छ। यदि हाम्रो माग सुनुवाइ भएन भने १३ जुनमा पुनः जन्तर–मन्तरमा अर्को सशक्त प्रदर्शन गरिनेछ।’

यसअघि उनले मन्त्रीले राजीनामा नदिए देशव्यापी प्रदर्शन गर्ने चेतावनी समेत दिएका थिए।

कमेन्टहरु