अवैध भारतीय कुखुरा बरामद, करिब १ क्विन्टल कुखुरा नष्ट

नन्द किशोर कुर्मी (लालु)
२०८३ जेष्ठ २३ | बिहान ११:०२ बजे

कपिलवस्तुको विजयनगर गाउँपालिका–५ । नवरंगियाबाट सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट डालपुरले करिब १ क्विन्टल बराबरको अवैध भारतीय कुखुरा बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक दीपकराज बडुका अनुसार भारतीय नम्बर प्लेट भएको गाडी UP 47 R 9582 सहित उक्त कुखुरा बरामद गरिएको थियो।
बरामद कुखुरालाई पशु क्वारेन्टीन कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि तथा अन्य सरोकारवालाको रोहबरमा नष्ट गरिएको उनले जानकारी दिए। अवैध रूपमा नेपाल भित्र्याइएका कुखुराले पशु स्वास्थ्य तथा जनस्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने भएकाले आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।




















