समाज

जनप्रतिनिधिलाई मानसिक स्वास्थ्यसम्बन्धी सचेतना

रासस
२०८३ जेष्ठ २० | मध्यान्ह ०५:०२ बजे

सुर्खेत ।  कर्णाली प्रदेशका स्थानीय तहका दलित जनप्रतिनिधिलाई मानसिक स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममार्फत यहाँका ७९ स्थानीय तहका जनप्रतिनिधिहरुलाई मानसिक स्वास्थ्य र नसर्ने रोगबारे सचेतना प्रदान गरिएको हो ।

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन (डब्लएचओ)का प्रतिनिधि प्रदीप अधिकारीले नसर्ने रोगबाट विश्व मानव समुदायलाई प्रभावित तुल्याइ रहकाले हरेक देश र नागरिकले यसबारे सजग हुन आवश्यक रहेको बताए ।

नसर्ने रोगको पहिचान, नियन्त्रण तथा रोकथामका लागि थुप्रै प्रयास भइरहे पनि विश्वमा लाखौँ र नेपालमा हजारौँ मानिसले ज्यान गुमाउन परेकाले मानसिक तथा शारीरिक स्वास्थ्य बनाउन व्यक्ति स्वयंले आफ्नो जीवनशैली सुधार्न र सरकारले जारी गर्ने नीति निर्देशन अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।

कर्णाली प्रदेशका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीले पछिल्लो समयमा मानसिक तथा नसर्ने रोग समाजमा बढिरहेको तथ्याङ्क प्रस्तुत गरे । गरिबी, अशिक्षा, अभाव, सूचना तथा प्रविधि, सामाजिक सञ्जाल तथा बदलिँदो जीवनशैलीका कारण हरेक परिवार तथा समाजमा मानसिक रोग देखिन थालेको र यसले चिन्ता, उदासिनता तथा आत्महत्याजस्ता घटना बढ्दै गएकाले समयमै यसको पहिचानका साथै नियन्त्रण तथा रोकथामका उपायबारे उनले बताए ।

सामाजिक विकास मन्त्रालय सुर्खेतका मानसिक स्वास्थ्य कार्यक्रमका सम्पर्क व्यक्ति खगेन्द्रप्रकाश गैरेले नसर्ने मुटुरोग, हाइपरटेन्सन, क्यान्सर, मधुमेह र श्वासप्रश्वासको समस्याजस्ता रोग बढिरहेकाले त्यसबारे स्थानीय तहका दलित जनप्रतिनिधिलाई जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेर कार्यक्रम गरिएको बताए । यसबाट समयमै रोगको पहिचान भई अकाल मृत्यु हुनबाट जोगाउने सहयोग मिल्ने उनको भनाइ थियो ।

सचेतना कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य रनसिंह परियार, प्रदेशसभाका पूर्वसदस्य सीता नेपाली, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनार, गुर्भाकोट नगरपालिकाका उपाध्यक्ष मैना विक, चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकलगायतका स्थानीय तहका कार्यपालिका सदस्यसहित ९५ जनाको सहभागिता थियो ।

कमेन्टहरु