आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना


काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ।
बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।
देशका तराई र पहाडी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । आज राति सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।






















