चेस विशेष साधारणसभाले अविश्वासको प्रस्ताव अस्वीकृत


११ जेष्ठ, हेटौंडा । नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई समूहले अध्यक्ष र महासचिव विरुद्ध हालेको अविश्वासको प्रस्ताव विशेष साधारणसभामा उपस्थित सबै प्रतिनिधिले सर्वसहमत अस्वीकृत गरेको छ। नेपाल बुद्धिचाल महासंघको कार्य समितिले जेष्ठ १० गते बोलाएको विशेष साधारणसभामा ५१ प्रतिशत गणपुरक संख्या उपस्थित नभएपछि विधान अन्तर्गत दोस्रो पटक आह्वान गरिएको थियो ।
नेपाल बुद्धिचाल महासंघले उदघाटन सत्रमा बागमती प्रदेश सभाषद् मा. एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता एवं विशिष्ट अतिथिको रूपमा अन्तर्राष्ट्रिय चेस महासंघ डेलिगेट दिलजित खन्नाको उपस्थिति रहेको थियो । राखेपद्वारा स्वीकृत विधानको परिच्छेद ३ दफा १०, उपदफा ५ को (घ) मा व्यवस्था भए बमोजिम एक दिनको फरक गरि ११ गतेका लागि पुन: विशेष साधारणसभा आह्वान गरिएको थियो ।
नेपाल सरकार खेलकुद बिकास ऐन २०७७ बमोजिम गठित नेपाल बुद्धिचाल महासंघको विधान २०४८, राष्ट्रिय खेलकुद परिषदवाट मिति २०८१/०५/११ मा स्वीकृत आठौं संशोधन २०८० अनुसार सोमबार ३३ प्रतिशत भन्दा बढी प्रतिनिधिहरूको उपस्थितमा विशेष साधारणसभा सम्पन्न गरेको हो । मकवानपुर स्थित हेटौंडामा उपाध्यक्ष माधवप्रसाद प्रधानको अध्यक्षतामा सञ्चालन भएको उक्त सभामा प्रतिनिधि एवं फिडे रुल्स कमिसनका काउन्सिलर उमेश केसीले प्रस्तुत गरेको सुझाव एवं पुरक प्रस्तावलाई महासंघले दस्तावेजीकरण गर्ने निर्णय गरेको छ ।
सभामा प्रतिनिधिहरू राजेन्द्र थापा, शक्तिराम बुढा, गोविन्दमान श्रेष्ठ लगायतले अविश्वासको प्रस्ताव आउनु पर्ने कारण के हो ?, यसमा कति तथ्य छन् ?, आर्थिक घोटाला, मानव तस्कर, खेलाडी हित कार्य इत्यादि विषयमा प्रष्ट पार्न विभिन्न प्रश्न गरेका थिए। अविश्वासको प्रस्ताव विरुद्ध अध्यक्ष र महासचिवले प्रतिरक्षा गर्दै महासंघलाई थप गति प्रदान गर्न योजना सहितको खाका प्रस्तुत गरेका थिए। विशेष साधारणसभाका प्रतिनिधिहरुको जिज्ञासामा विचारविमर्श गरि विभिन्न निर्णय गरेका छन्। विशेष साधारणसभाले विधान विपरित महासंघको गरिमा माथि आँच आउने भ्रामक कार्य नगर्न नगराउन सचेत गराउदै समग्र विषय समेटेर पत्रकार सम्मेलनको आयोजना गर्ने निर्णय भएको प्रवक्ता राजु ताम्राकारले जानकारी गराएका छन्।






















