मेची–महाकाली उद्धार यात्रा : बुधबार सडकपेटीबाट उद्धार गरिएका ५ जना मानवसेवा आश्रमकाे संरक्षणमा


बुटवल । सडकपेटीमा बेवारिसे जीवन बिताउन बाध्य ५ जना पुरुषलाई बुधबार रुपन्देहीका विभिन्न स्थानबाट उद्धार गरिएको छ । बिहानदेखि नै रुपन्देही र कपिलवस्तु जिल्लाका बजार क्षेत्र, सडक किनारा र सार्वजनिक स्थलहरूमा खटिएका उद्धार यात्रीहरुले भोक, असुरक्षा र उपेक्षाबीच जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको खोजी तथा उद्धार गरेको थियो ।
उद्धार गरिएका ५ जना पुरुष लामो समयदेखि सडकमै बस्दै आएका कारण मेची-महाकाली उद्धार यात्रामार्फत उद्धार गरि रुपन्देहीस्थित मानवसेवा आश्रमकाे संरक्षणमा राखिएकाे छ । “याे वर्षातमा कसैले पनि बस्न नपराेस् सडकपेटीमा” भन्ने उद्देश्यसहित आयाेजना गरिएकाे अभियान बैशाख २७ गतेदेखि शुभारम्भ भएकाे हाे ।
उद्धार यात्राले अहिले देशका विभिन्न जिल्लामा मानवता बचाउने अभियानलाई निरन्तरता दिँदै मानवता प्रवर्द्धनमा समेत टेवा पुर्याईरहेकाे छ । मानवसेवा आश्रम तथा आनी छोइङ ड्रोल्मा फाउन्डेसनद्वारा सञ्चालन भइरहेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा जेठ २२ गतेसम्म जारी रहनेछ ।
उद्धार यात्री भोलि चन्द्रौटादेखि नेपालगन्जसम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा जाेखिमपूर्ण जीवनयापन गरिरहेका सहयोगापेक्षी सडकआश्रित मानवहरूको खोजी तथा उद्धारमा खटिने भएका छन् ।






















