थप ३०४ सहकारीपीडितले फिर्ता पाए बचत


काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार कृषि सहकारी र शिवशिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो ।
समितिका अनुसार, बुधबार कृषि सहकारीका ८८ जना र शिवशिखर बहुउद्देश्यीय सहकारीका थप २१६ बचतकर्ताले बचत फिर्ता पाएका हुन् । यसअघि समितिले कान्तिपुर सहकारीका २१५, शिवशिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका सात गरी ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो ।
समितिका अनुसार, पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
समितिका अनुसार, समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता छन् ।
पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कुल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।






















