विजयनगर बजारमा अनुगमन, दर्ता र कर पनि निगरानीमा


कपिलवस्तु । विजयनगर गाउँपालिकाले बजार अनुगमन गर्दै म्याद गुज्रिएका खाद्यान्न तथा अवैध रूपमा बिक्रीका लागि राखिएका ३० हजार रुपैयाँ भन्दा बढी मूल्यका सामग्री जफत गरी नष्ट गरेको छ । गाउँपालिकाकाे प्राङ्गणमामा नियमानुसार उक्त सामग्रीहरु नष्ट गरिएको हाे । बिहीबार गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा विजयनगर गाउँपालिका-४ त्रिपालनगरस्थित ७ ओटा पसल तथा व्यवसायबाट म्याद नाघेका खाद्यान्न, सुर्तीजन्य पदार्थ, किराना सामग्री, तेल, मसला, कस्मेटिक सामग्री, पेट्रोल, पेय पदार्थ तथा अवैध औषधी बरामद गरेकाे थियो ।
अनुगमनका क्रममा टोलीले पसल दर्ता भए-नभएको, व्यवसायीले स्थानीय तहमा बुझाउनुपर्ने राजश्व तिरे-नतिरेको तथा व्यवसाय सञ्चालनसम्बन्धी कागजातको समेत तथ्यांक संकलन र जाँच गरेको गाउँपालिका राजश्व शाखा प्रमुुख अनिल सापकोटाले जानकारी दिए । उनका अनुसार पसल दर्ता बिना सञ्चालनमा रहेका तथा कर दायित्व पूरा नगरेका व्यवसायहरूलाई अनिवार्य पसल दर्ता गर्न, कर बुझाउन र दर्ताका लागि आवश्यक प्रक्रिया बारेसमेत जानकारी गराइएको थियोे ।
अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खालका सामग्री बिक्रीवितरणका लागि राखिएको पाइएपछि ती सामान जफत गरेको जनाएको छ । जफत गरिएका खाद्य तथा उपभोग्य सामग्रीहरू स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ निर्देशिका बमोजिम नष्ट गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बजारमा उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने, म्याद नाघेका तथा गुणस्तरहीन सामग्री बिक्री गर्ने व्यवसायीमाथि नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ । अनुगमन टाेलीमा ४ का वडा अध्यक्ष तिलकराम कँडेल, ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमान, कार्यपालिका सदस्य दमन्ती राना, गाउँपालिका लेखा प्रमुख खुविराम पन्थी, प्रहरी चाैकी ठाकुरापुरका इन्चार्ज पुष्कर सिंह कुँवर लगायतकाे टाेलीले पसलहरुमा अनुगमन गरेको थियोे ।






















