सवारी साधनको प्रदूषण परीक्षण तथा चेकजाँचका क्रममा ५४ सवारी साधनलाई कारबाही


चितवन, वैशाख २७ । जिल्लाका विभिन्न स्थानमा गरिएको सवारी साधनको प्रदूषण परीक्षण तथा चेकजाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने ५४ वटा सवारी साधनलाई कारबाही गरिएको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभाग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबाट संयुक्त रूपमा खटिएको टोलीले वैशाख २४ र २५ गते सञ्चालन गरेको चेकजाँच अभियानमा १७३ वटा सवारी साधन परीक्षण गरेको थियो।
जाँचका क्रममा निर्धारित मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने ५४ वटा सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिए। उनका अनुसार यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ उपदफा ९१० को खण्ड ९च० अनुसार आवश्यक कारबाही गरिएको हो। ‘चितवनमा गुड्ने सवारीसाधनमा प्रदूषण बढी भएको अनुभव गरेपछि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागमा रहेको प्रदूषण नाप्ने यन्त्र ल्याएर नमुना परीक्षण गरेका थियौँ,’ उनले भने ‘चेकजाँचका क्रममा ३२ प्रतिशत सवारी साधनले बढी धुवा उत्सर्जन गरेको पायौँ।’
परीक्षणका क्रममा आठ वटा विद्यालयका बसमा समेत प्रदूषण बढी रहेको पाइएको छ। समय अभावका कारण जिल्लाका २५ वटा विद्यालयको मात्र नमुना परीक्षण गरिएको थियो। जिल्लामा प्रदूषण नाप्ने यन्त्र नभएकाले वातावरण मन्त्रालयसँग समन्वय गरेर ल्याउनुपरेको थापाले बताए। ‘चितवनमा प्रदूषण नाप्ने यन्त्र छैन। यस पटक हामीले काठमाडौंबाट नमुनाको रूपमा परीक्षण गरेका हौँ,’ उनले भने ‘आगामी वर्ष यहाँका स्थानीय पालिकालाई खरिद गर्न भनेका छौँ।’ चितवन धेरै सवारी साधन गुड्ने जिल्ला मध्ये एक हो। त्यस कारण पनि सवारीसाधन प्रदूषण नाप्ने यन्त्र आवश्यक रहेको उनले बताए।
टोलीले सवारी साधनहरूको यान्त्रिक अवस्था दुरुस्त राख्न तथा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न चालक तथा सवारी धनीलाई आह्वान समेत गरेको उनले बताए। यसैबिच विद्यालयमा विद्यार्थी ओसारपसारका लागि प्रयोग हुने स्कुल बसहरूको सुरक्षा अवस्था तथा मापदण्ड पालना सुनिश्चित गर्न चितवनमा स्कुल बसहरूको यान्त्रिक परीक्षण तथा चालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनको आयोजना तथा यातायात व्यवस्था कार्यालय चितवन, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भरतपुर, कलेज अफ मेडिकल साइन्सेस चितवन तथा चितवन अटोमेकानिकल व्यवसायी संघको सहकार्यमा अभियान सञ्चालन गरिएको हो। कार्यक्रम अन्तर्गत भरतपुर बजार क्षेत्रका १४४ वटा स्कुल बसहरूको ‘स्कुल बस निर्देशिका, २०७४’ मा उल्लेखित मापदण्ड पालना भए÷नभएको विषयमा अनुगमन तथा यान्त्रिक परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। जाँचका क्रममा तोकिएका मापदण्ड पूरा नगर्ने सवारी साधनहरूलाई आवश्यक सुधार गरी मात्रै विद्यार्थी ओसारपसारमा प्रयोग गर्न सम्बन्धित पक्षलाई सुझाव दिइएको कार्यालय प्रमुख थापाले जानकारी दिए।
त्यसैगरी कार्यक्रममा करिब २५० जना सवारी चालक तथा परिचालकहरूको स्वास्थ्य परीक्षण समेत गरिएको उनले बताए। कार्यक्रमले विद्यालय बसहरूको सुरक्षित सञ्चालन तथा सडक सुरक्षा सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।






















