समाचार

चितवनमा सञ्चालित एम्बुलेन्समा जीपीएस जडान अनिवार्य

रासस
२०८३ बैशाख २६ | मध्यान्ह ०६:०१ बजे

नारायणगढ । जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ ।जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई सात दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ ।

सोअनुसार दर्ता भएका एम्बुलेन्सले १५ दिनभित्र जीपीएस प्रणाली जडान गरी त्यसको जानकारी जनस्वास्थ्य कार्यालयमा बुझाउनुपर्ने निर्णय गरिएको प्रजिअ अर्यालले जानकारी दिए । विवरण दर्ता नगर्ने र जीपीएस जडान नगर्ने एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाइने समितिले जनाएको छ ।

भाडादर र पार्किङ व्यवस्थापनका लागि जनस्वास्थ्य कार्यालय प्रमुखको संयोजकत्वमा ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, एम्बुलेन्स चालक सङ्घ र भरतपुर महानगरपालिका सम्मिलित उपसमितिले सिफारिस गरेको भाडादर अनुसार मात्र सेवा सञ्चालन गर्नुपर्ने निर्णय भएको प्रजिअ अर्यालले बताए । 

बिरामीसम्बन्धी स्वास्थ्य संस्था पुर्‍याइसकेपछि एम्बुलेन्स तत्काल आफ्नो कार्यक्षेत्रमा फर्कनुपर्ने र अस्पताल वा स्वास्थ्य संस्था परिसरमा अनावश्यक पार्किङ गरी अन्य एम्बुलेन्सलाई अवरोध पुर्‍याएमा कारबाही गर्ने निर्णय भएको उहाँले उल्लेख गर्नुभयो । बिरामीलाई समयमै अस्पताल पुर्‍याउन र एम्बुलेन्सको सही अवस्थिति थाहा पाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे। 

सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्लाको पूर्वी भाग भण्डारा र मुग्लिङ खण्डमा स्वास्थ्यकर्मीसहित एक/एक वटा ‘डेडिकेटेड एम्बुलेन्स’ २४सै घण्टा परिचालन गरिने भएको छ । ती एम्बुलेन्स चालकको नाममा छुट्टाछुट्टै टोलफ्री नम्बर उपलब्ध गराइनेछ । यस्तै, २४सै घण्टा खटिने चालकको खाजा, खाना र चिया खर्चका लागि चितवन र रत्ननगर उद्योग वाणिज्य सङ्घलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको प्रजिअ अर्यालले बताए ।

चालक र स्वास्थ्य संस्थाबिच हुनसक्ने अनावश्यक मिलेमतो वा गोप्य कारोबार रोक्न एम्बुलेन्स चालक सङ्घ र स्वास्थ्य संस्थाले संस्थागत पहल गर्ने निर्णय भएको छ । जिल्लाभरका एम्बुलेन्सले निर्देशिका बमोजिम अनिवार्य रूपमा यान्त्रिक जाँच गराउनुपर्ने र चालकले अनिवार्य रूपमा पोसाक लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

बैठकपछि प्रमुख जिल्ला अधिकारी अर्यालले निर्णय कार्यान्वयनमा जोड दिँदै भने, ‘यी निर्णयहरू कार्यान्वयन भएपछि हामीले अपेक्षा गरेभन्दा सकारात्मक परिवर्तन हुन्छन् । नागरिक तथा बिरामीले सहज रूपले सेवा पाउनेछन् ।’ उनले चितवनको एम्बुलेन्स सेवालाई गुणस्तरी र प्रभावकारी बनाउने उद्देश्यले गरिएका यी निर्णयले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी सुवेदी, जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरे, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कायममुकायम कार्यकारी निर्देशक डा उमेश नेपाल, बकुलहर रत्ननगर अस्पतालका डा रमेश पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष बिक्रम अधिकारी, संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेलगायत सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।

कमेन्टहरु