दुबई यूएई, देश, प्रबास, मनोरन्जन, समाज
दुबईमा बुद्ध जयन्ती: नेफिन यूएई सतिह १२ जातीय संस्थाको संयुक्त आयोजन, एकता र पहिचानको सशक्त सन्देश


प्रवास दुबई, यूएई — विश्वशान्तिका प्रतीक भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती युएईमा भव्य रूपमा मनाइएको छ। परदेशमा रहेर पनि नेपाली समुदायले शान्ति, सहिष्णुता र एकताको सन्देश फैलाउँदै यो दिवस विशेष रूपमा मनाएका हुन्।
मे ३ तारिखमा दुबईस्थित क्लब SK7 को सभाहलमा सम्पन्न कार्यक्रम Nepal Federation of Indigenous Nationalities UAE सहित १२ वटा जातीय संस्थाहरूको संयुक्त आयोजनमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न समुदायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा धर्मगुरु छेवाङ लामाले प्रवचन दिँदै वर्तमान विश्वमा बढ्दो हिंसा र द्वन्द्वलाई अन्त्य गर्न बुद्धका अहिंसा र करुणाका मार्ग अपनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको अध्यक्षता नेफिन युएईका अध्यक्ष भागीरथी कुमार भगतले गरेका थिए भने नेपाली महावाणिज्यदूतका प्रतिनिधि कुन्जन शाह प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उद्घाटन सत्र नेपाली तथा युएईको राष्ट्रिय गानसँगै दीप प्रज्वलन र अष्ट मन्त्र उच्चारणमार्फत सम्पन्न गरिएको थियो।
औपचारिक सत्रमा वक्ताहरूले बुद्धका जीवन दर्शन र वर्तमान सन्दर्भमा त्यसको महत्वबारे चर्चा गरेका थिए। कार्यक्रमको सञ्चालन मनिषा खाम्दाहाङ लिम्बु र देव भुजेलले संयुक्त रूपमा गरेका थिए।

यस कार्यक्रमलाई थप गरिमामय बनाउन दुबईमा रहेका विभिन्न जिल्ला तथा नगरस्तरीय नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

अनौपचारिक सत्रमा विभिन्न जातीय संघ–संस्थाहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। यस क्रममा Koch Rajbanshi Pravasi Samaj ले आफ्नो जातीय पहिचान झल्काउने आकर्षक नृत्य प्रस्तुत गर्दै विशेष आकर्षण थपेको थियो।






















