एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नवलपुर टुडे


गलकोट (बागलुङ) । नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ ।
यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि विसं २०८१ भदौ ११ गते शुभारम्भ गरिएको थियो । उक्त नाच १९ पटक देखाएर बागलुङ बजारको हनुमान पौवामा पुगेर मङ्गलबार समापन गरिएको र आगामी तीन वर्षपछि देखाउने योजना बनाएको हनुमान नाच संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिए ।
गालामा अनेकथरी रङ्ग पोतिएको, शिरमा श्रीराम लेखिएको रातो पट्टि, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने १३ जोडी युवा विभिन्न १० तालमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले करिब तीन सय वर्षदेखि बचाउँदै आएका छन् ।
नाचको बीचबीचमा हनुमानहरूलाई वीर चढ्ने दृश्यले सबैलाई मोहित बनाउने गरेको छ । उनीहरू अचेत जस्तै बनेर हल्लिन्छन् । नाचमा सहभागी पुजारीले पूजाविधिका कारण हनुमानहरूलाई वीर चढ्ने (लाग्ने) गरेको बताइन्छ ।
यसपटक पनि विगतमा जस्तै दुई÷दुई जनाको जोडी बनाएर सङ्गीतको तालमा नाच्न १९ पटकमा ४२ युवाको सहभागिता रहेको थियो । शुभारम्भ, समापन, बागलुङ महोत्सव, बसपार्क उद्घाटन र अतिथि स्वागत, गलकोटमा देखाइएको नाचसँगै १४ वटा टोल पूजा सम्पन्न गरिएको छ ।
मल्ल राजाको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले संरक्षण गरेर देखाउँदै आएका छन् । कोरोनालगायत कारण नौ वर्षमा देखाइएको नाच २१ महिनामा १९ पटक देखाएर समापन गरी बागलुङ बजारको हनुमान पौवामा हनुमानको मूर्ति बागलुङ बजार परिक्रमा गरी पुनः प्रतिस्थापन गरिएको छ ।
खर्चिलो नाचका रूपमा रहेको यो नाच व्यवस्थापनमै कठिन भएपछि तीन वर्षमा देखाइने नाच विस्तारै पाँच वर्ष, सात वर्ष र हाल नौ वर्षमा मनाउन थालिएकोे हनुमान नाचका प्रधानकजी ईश्वरप्रसाद मलेपतीले जानकारी दिए । उक्त नाच रामायण कथामा आधारित रहेको छ ।
भक्तपुरका नेवार समुदाय विसं १७६८ मा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास पाइन्छ । बीचमा हराएको नाचले २०१३ सालदेखि निरन्तरता पाउन थालेको मलेपतीले बताए ।
नाच बागलुङ नगरपालिका–३ नारायणचोकको भीमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत् रूपमा हनुमान नाच शुभारम्भ हुने गर्दछ ।
विसं २०८१ भदौ ११ गते नारायणचोकबाट नौ वर्षपछि सुरु भएको हनुमान नाच किनाराटोल, राधाकृष्ण टोल, धौलागिरि चोक, आवारोड, सृजना टोल, गलकोट हुँदै कालिका मन्दिरसहित शुभारम्भ र समापनसहित १९ स्थानमा देखाइएको छ ।
हनुमान नाच समापन समारोहमा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङको पहिचानसँग हनुमान नाच जोडिएको बताए । कार्यक्रममा हनुमान नाचमा सहभागी कलाकार, वाद्यवादक, प्रधानकजी तथा कजीलाई सम्मान गरिएको थियो ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















