छ सय सोह्र विपद्का घटनामा ३४ जनाको मृत्यु


काठमाडौं, वैशाख १६। विगत १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही वैशाख १ गतेदेखि १६ गतेसम्म मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का ६१६ घटना घटेका छन् । यी घटनामा परी ३४ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् ।
घटनाको प्रकृतिअनुसार आगलागी सबैभन्दा बढी देखिएको छ । आगलागीका मात्रै २६७ घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ठूलो धनमालको क्षति भएको छ । आगलागीबाट मात्रै झण्डै रु नौ करोड ७५ लाख बराबरको क्षति भएको छ । त्यस्तै, चट्याङका ७४ घटनामा नौ जनाको ज्यान गएको छ भने ४९ जना घाइते भएका छन् । हुरीका ४४ घटनाले ३१९ परिवार प्रभावित भएका छन् भने करिब रु ८३ लाख क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
अन्य घटनामा सर्पदंश, जनावरको आक्रमण, जङ्गल डढेलो, पहिरो, भारी वर्षा तथा बाढीसमेत रहेका छन् । जङ्गल डढेलोका १२८ घटनामा मानवीय क्षति न्यून भए पनि भौतिक क्षति उल्लेखनीय भएको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पछिल्लो समय सुक्खा मौसम, तापक्रम वृद्धि तथा मानवीय लापरवाहीका कारण आगलागी र जङ्गल डढेलोका घटना बढिरहेका छन् । विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, जनचेतना र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उहाँको भनाइ छ ।






















