धर्म–संस्कृति/रीतिथिति, समाचार, समाज

बुद्धको ‘प्रवज्या स्थल’ अनोमा घाटमा बढ्दै पर्यटक: धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै सुस्ता

नवलपुर टुडे
२०८३ बैशाख ४ | मध्यान्ह ०७:०१ बजे
'अनोमा घाटमा' बौद्ध धर्मावलम्बी र पर्यटकहरू ।

नवलपरासी, बैशाख  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक क्षेत्र ‘अनोमा घाट’ (त्रिवेणी सुस्ता) मा पछिल्लो समय बौद्ध धर्मावलम्बी र पर्यटकहरूको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको छ। सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राजदरबार त्याग गरी गृहत्याग गरेपछि पहिलो पटक प्रवज्या (दीक्षा) लिएको स्थलका रूपमा चिनिने यस क्षेत्रले बिस्तारै अन्तर्राष्ट्रिय पहिचान बनाउन थालेको हो ।

लुम्बिनी र कपिलवस्तु जस्ता स्थापित बुद्धकालीन स्थलहरूको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू अहिले बुद्धको महाभिनिष्क्रमणसँग जोडिएको अनोमा नदी किनार खोज्दै सुस्ता पुग्न थालेका छन्। बौद्ध धर्मशास्त्रहरूका अनुसार, राजकुमार सिद्धार्थले आफ्नो राजकीय वस्त्र र आभूषण त्यागेर यही अनोमा नदीको किनारमा आफ्नो कपाल मुण्डन गरी भिक्षु जीवनको सुरुवात गर्नुभएको थियो। “बुद्धत्व प्राप्तिको यात्रा सुरु भएको यो पहिलो विन्दु भएकाले यसको विशेष आध्यात्मिक महत्त्व छ,” बौद्ध विद्वानहरू बताउँछन्।

पछिल्लो समय यस क्षेत्रमा विभिन्न बौद्ध विहारहरूको निर्माण र संरक्षणका प्रयासहरू सुरु भएपछि पर्यटकहरूको आगमनमा वृद्धि भएको हो।  बौद्ध स्थलहरूको संरक्षण र प्रवर्द्धनमा क्रियाशील अनोमा नेपाल जस्ता संस्थाहरूको सक्रियताले गर्दा नै आज पश्चिम नवलपरासीका ओझेलमा परेका बुद्धकालीन स्थलहरूले नयाँ जीवन पाउन थालेका छन्।

रूपन्देहीको अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारका भिक्षु, भिक्षुणी र उपासकहरूको टोलीले गरेको भ्रमणले पनि यस क्षेत्रको प्रचारप्रसारमा थप बल पुर्‍याएको छ। रूपन्देही बुटवलको तिलोत्तमा नगरपालिका–४,   डिङ्गरनगरस्थित उदय विहारका प्रमुख भन्ते शासनध्वज धर्माचार्य , भिक्षु आनन्द स्थविरले नेतृत्व  रहेका भ्रमण दलमा भिक्षु, भिक्षुणी, श्रामणेर, उपासक र उपासिकाहरू गरी २५ जनाको समूहले बुद्धको महाभिनिष्क्रमण स्थल तथा अनोमा प्रवज्या स्थलको अवलोकन भ्रमण गरेको हो ।

अनोमा नेपालका  महासचिव अशोक मानन्धरले अनोमा क्षेत्रको चौतर्फी विकासका लागि संस्थागत रूपमा तीव्र पहल भइरहेको जानकारी दिनुभएको छ। महासचिव मानन्धरका अनुसार, अनोमा क्षेत्रको भौतिक पूर्वाधार विकास र यसको ऐतिहासिक गरिमालाई विश्वस्तरमा चिनाउन ‘अनोमा नेपाल’ ले नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरू तथा विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग समन्वय गरिरहेको छ।

शीबपुगढी , त्रीबेणी स्थीत ज्येती बैद्ध  विहारका अध्यक्ष एवम् प्रमुख संरक्षक   सिंह बहादुर  थापाले  आफ्नो मन्तव्य राख्दै यस क्षेत्रलाई बौद्ध पर्यटकीय स्थलका रूपमा चिनाउन यस्ता भ्रमणहरूले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

Aanomaghat 3

‘अनोमा घाटमा’ बौद्ध धर्मावलम्बी र पर्यटकहरू ।

स्थानीय अनोमा बुद्ध विहारका अध्यक्ष सुग्रीव यादवका अनुसार, बुद्ध धर्मावलम्बी र स्थानीय समुदायको आस्थाको केन्द्रका रूपमा रहेको यस स्थानमा विहार निर्माणको काम तत्काल सुरु हुने तयारीमा रहेको छ। यसलाई विकास गर्न पूर्वाधार निर्माणका योजनाहरू तयार भइरहेका छन्। उहाँ भन्नुहुन्छ, “अनोमा क्षेत्रको ऐतिहासिक महत्त्वलाई बुझेर यहाँ आउने पर्यटकहरूको संख्या बढ्दो छ ।

लुम्बिनी विकास कोषले पनि यस क्षेत्रलाई ‘बुद्धिस्ट सर्किट’ (बुद्ध परिपथ) सँग जोड्ने योजना अघि सारेको छ। ओझेलमा परेका यस्ता ऐतिहासिक स्थलहरूमा हुने भ्रमणले नवलपरासीको मात्र नभई समग्र देशकै पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले” भन्नुभयो:बुद्धसँग जोडिएका ओझेलमा रहेका यस्ता ऐतिहासिक स्थलहरूमा हुने भ्रमणले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले बुद्ध परिपथ (बुद्धिस्ट सर्किट) लाई अझ मजबुत बनाउन मद्दत गर्दछ।”

सुस्ता पुग्ने पर्यटकहरूले अनोमा नदीको शान्त वातावरण, त्रिवेणी धाम र बुद्धसँग सम्बन्धित पुरातात्विक अवशेषहरूको अवलोकन गर्ने गरेका छन्। स्थानीय प्रशासन र सरोकारवाला निकायले यस क्षेत्रको सडक पहुँच र प्रचारप्रसारमा अझै ध्यान दिने हो भने यो क्षेत्र नेपालको एक प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बन्ने निश्चित छ।

 

कमेन्टहरु