भारतबाट अवैध रूपमा कुखुरा ल्याउने क्रम रोकिएन


नेपालगञ्ज । अहिले बर्ड फ्लुको जोखिम छ । तर, बाँकेको जमुनाह नाकाबाट अवैध रूपमा भारतीय कुखुरा ल्याउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयले आज नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट १०८ किलोग्रामका ३६ थान तयारी अवस्थामा रहेका कुखुरा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३६ थान अवैध कुखुरा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने गरिएको बताउँदै उहाँले प्रहरी देख्ने बित्तिकै ती व्यक्ति भाग्ने गरेकाले पक्राउ गर्न नसकिएको उनले उल्लेख गरे।
खुला सीमानाका र व्यापारीमा सचेतनाको कमीका कारण अवैध कुखुरा नेपालगञ्ज ल्याइएको उल्लेख गर्दै डा. यादवले अहिलेसम्म ३५ हजार तयारी कुखुरा नष्ट गरिएको जानकारी दिए । चालु आर्थिक वर्षमा ६० हजार भारतीय अवैध चल्ला र ४०० किलो कुखुराको तयारी मासु र अण्डा नष्ट गरिएको उनले उल्लेख गरे।
प्रहरीको सहयोगमा पक्राउ गरिएका सबै अवैध कुखुरा, चल्ला, अण्डा र मासु नष्ट गरिएका पशु क्वारेन्टाइन नेपालगञ्जले जनाएको छ । तराईका केही जिल्लामा बर्ड फ्लुको जोखिम बढ्दै गए पनि हालसम्म यस क्षेत्रमा सङ्क्रमण नदेखिएको पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा यादवले जानकारी दिए।






















