समाचार

दुर्गम बस्तीमा सांसद खनाल, पहाडी क्षेत्रका बासिन्दाका समस्या सुन्दै

नवलपुर टुडे
२०८३ बैशाख ३ | मध्यान्ह ०४:०१ बजे
पहाडी क्षेत्रका बासिन्दाका समस्या सुन्दै सांसद खनाल

 नवलपरासीबैशाख ३ पश्चिम नवलपरासी प्रतिनिधिसभा सदस्य एवं पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ का सांसद विक्रम खनालले आफ्नो निर्वाचन क्षेत्रका विकट पहाडी गाउँबस्तीहरूमा पुगेर जनगुनासो सुन्ने अभियानलाई तीव्रता दिनुभएको छ। सुगम क्षेत्रभन्दा पनि दुर्गम र पिछडिएका बस्तीका नागरिकका साना-मसिना समस्यालाई नजिकबाट बुझ्न उहाँ गाउँ-गाउँ पुग्नुभएको हो।

यसै क्रममा  बर्दघाट नगरपालिका वडा नं. २ को पहाडी क्षेत्रका बासिन्दासँग भेटघाट गरी त्यहाँको वास्तविक वस्तुस्थितिबारे जानकारी लिनुभएको छ।  भेटघाटका क्रममा सांसद खनालले पहाडी क्षेत्रमा देखिएको यातायातको असहजतागुणस्तरीय शिक्षाको अभाव र स्वास्थ्य सेवामा पहुँच जस्ता विषयमा स्थानीयसँग प्रत्यक्ष छलफल गर्नुभएको थियो। उहाँले विकट क्षेत्रका बासिन्दाले भोग्नुपरेका साना-मसिना समस्याहरू सुन्दै त्यसको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

छलफलका क्रममा स्थानीय बासिन्दाहरूले सडक पूर्वाधारको अभाव नै आफ्नो मुख्य समस्या रहेको बताएका थिए। पहाडी क्षेत्रमा सडक सञ्जाल विस्तार भएमा यहाँ उत्पादित कृषिजन्य खाद्यान्न र तरकारीलाई बजारसम्म पुर्‍याउन सहज हुने र स्थानीयको आम्दानीमा वृद्धि हुने भन्दै उनीहरूले सांसद खनालसमक्ष जोडदार माग राखेका छन्।

पहाडी क्षेत्रको उत्पादनले उचित बजार नपाउँदा किसानहरू मर्कामा परेको भन्दै स्थानीयले सडक विस्तारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे। निर्वाचन क्षेत्रका हरेक कुनाकाप्चामा पुगेर जनताका पीरमर्का बुझ्ने सांसद खनालको यो सक्रियतालाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्। दुर्गमका समस्यालाई नीतिगत तहमा पुर्‍याई समाधान खोज्ने उहाँको प्रयासले पहाडी भेगका नागरिकमा आशा जगाएको छ।

 

कमेन्टहरु