आकर्षक पर्यटकीय गन्तव्य बन्दै च्याङ्ग्रे क्षेत्र

रासस


भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो क्षेत्र पर्यटनको रोजाइँमा परेको हो ।
पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई गाउँपालिकाले संरक्षणसँगै पर्यटकलाई लक्षित गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । पर्यटकलाई लक्षित गरेर यहाँ दुई वटा साना पानीबोटसमेत सञ्चालनमा ल्याइएपछि पर्यटकको आवागमन झनै बढेको हो ।
पर्यटकलाई लक्षित गरेर ‘पञ्चकन्या स्मृति उद्यान (पार्क) निर्माण गरिएको छ भने आउने पर्यटकका लागि अन्य संरचनासमेत निर्माण भएका छन् । च्याङ्ग्रे पोखरीको संरक्षणसँगै यहाँ घुम्न आउने आन्तरिक पर्यटक बढेको गाउँपालिकाले जनाएको छ । यो क्षेत्रलाई दिगो पर्यटन पूर्वाधारका रूपमा विकास गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
उद्यानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न वृक्षरोपण, फलैँचा, विश्रामस्थल निर्माणलगायतका पूर्वाधार विकासका कामहरू निरन्तर रूपमा अगाडि बढाइरहेको छ । स्थानीय तहले पोखरी तथा उद्यानलाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै शैक्षिक अवलोकन स्थलका रूपमा पनि विकास गर्ने योजना बनाएको छ । पोखरी नजिकै रहेको पञ्चकन्या मन्दिर पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
पोखरीको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न आन्तरिक पर्यटकहरू आउने गरेको स्थानीयबासी सावित्रा फुयालले बताए । परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने र दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामाकरण गरिएको स्थानीयवासीको कथन छ । परापूर्वकालदेखि नै पोखरीको पानी जुनसुकै खडेरीमा पनि नसुक्ने स्थानीयवासीको भनाइ छ ।
यही पोखरीको नामबाट यहाँ च्याङ्ग्रे बजारसमेत लाग्ने गरेको छ । विश्राम गर्न घुम्न डुल्न, तस्बिर लिन र दृश्यावलोकनको भरपुर आनन्द लिन आन्तरिक पर्यटक यहाँ आउने गरेको स्थानीयवासी राम पुलामी मगरले बताए । यसको संरक्षणपछि यहाँको पर्यटनमा टेवा पुगेको उनको भनाइ छ ।
विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तजनको जमघट हुने स्थानीयवासीको भनाइ छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको यो स्थानको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न सके आर्थिक रूपमा समेत टेवा पुग्ने स्थानीयवासीहरूको विश्वास छ ।

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित


छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठान: उपराष्ट्रपति यादव

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने– ‘सामाजिक विभेद अन्त्य गरी एकता बढाउँछ’

अमेरिकी डलरको भाउ १५१.०९ रुपैयाँ, अन्य मुद्राको विनिमयदर
















