Opens in a new tab

मेयर रेनु दाहालद्धारा नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा निरीक्षण

रासस

29Shares
dida bag ad

नारायणगढ (चितवन), पुस २१। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।जनताको जीउधनको सुरक्षासँग जोडिएको नारायणी नदीअन्तर्गत भरतपुर महानगर क्षेत्रका करिब ३५ किलोमिटर तटीय क्षेत्रमा आवश्यकताअनुसार विभिन्न चरणमा तटबन्ध निर्माणको काम भइरहेको नगरप्रमुख दाहालले बताउनुभयो । उहाँका अनुसार अत्यन्त जोखिमयुक्त २५ किलोमिटर क्षेत्रमा ठेक्का प्रक्रियामार्फत तटबन्ध निर्माणको काम सम्पन्न हुने चरणमा छ भने बाँकी १० किलोमिटर क्षेत्रमा जोखिमका आधारमा निर्माण प्रक्रिया अघि बढाइएको छ ।

“पच्चिस किलोमिटर क्षेत्रलाई पाँच–पाँच किलोमिटर खण्डमा विभाजन गरी काम भइरहेको छ । बाँकी १० किलोमिटर प्रक्रियामै छ । एकैपटक गर्न पाए अझ राम्रो हुन्थ्यो । तर उपलब्ध स्रोत र जोखिमका आधारमा प्राथमिकता दिँदै काम गर्दै आएका छौँ”, नगरप्रमुख दाहालले भन्नुभयो ।

यस योजनाका लागि अर्बौँ रुपैयाँ बजेट आवश्यक पर्ने उल्लेख गर्दै उहाँले बाँकी क्षेत्रमा छिट्टै प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । “अब ढिलाइ हुँदैन, यहाँका जनतालाई सुरक्षित बनाइन्छ”, नगरप्रमुख दाहालले भन्नुभयो । नारायणी नदी व्यवस्थापन आयोजनासँग समन्वय गरी काम भइरहेको र यसलाई पूर्णता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरप्रमुख दाहालले आफू निर्वाचित भए लगत्तै यो काम सुरु गरिएको उल्लेख गर्दै भरतपुरमा धेरै विकास भइसकेको र बाँकी रहेका केही स्थानको विकास प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । पहिलो चरणमा मानव बस्ती जोखिममा रहेका क्षेत्रमा तटबन्ध निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा अन्य क्षेत्रमा योजना ल्याइने उहाँको भनाइ छ ।

अनुगमनका क्रममा नगरप्रमुख दाहालले नारायणी किनारका स्थानीयवासीसँग छलफल गर्नुभयो । सो अवसरमा भरतपुर–१६ का डिल्लीराम दवाडीले बाँकी तटबन्ध निर्माण कार्य शीघ्र पूरा गर्न अनुरोध गर्नुभयो । सोही वडाका अब्दुल कलामले तटबन्ध पूरा गरी बस्ती जोगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । स्थानीय नन्दप्रसाद भट्टले बस्ती सुरक्षित भएकामा खुसी व्यक्त गर्दै बाँकी तटबन्ध छिटो सम्पन्न गर्न आग्रह गर्नुभयो ।

अनुगमनका क्रममा सँगै रहनुभएका नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख नारायण सुवेदीले सीमित स्रोतसाधनका बाबजुद पनि बढी जोखिमयुक्त स्थानमा प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो । अन्य नदीको तुलनामा नारायणीमा उल्लेखनीय काम भएको उल्लेख गर्दै उहाँले महानगरपालिकासँगको समन्वयमा काम छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख दाहालले भरतपुर–१६ गणेशमन्दिर, २६ भगौडी लगायतका क्षेत्रको तटबन्धको कामको निरीक्षण तथा अनुगमन गर्नुभएको थियो ।

यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

२०८३ कार्तिक २१ | बिहान ०६:०७ बजे

काठमाडौं २४ घण्टा खुलाउने तयारी

२०८३ कार्तिक २१ | बिहान ०६:०७ बजे

तिहार बिदामा निगमको डिपो खुला रहने

२०८३ कार्तिक २१ | बिहान ०६:०७ बजे