अत्यधिक चिसोका कारण पठनपाठन प्रभावित
तपेन्द्र एडी


मुगु । जिल्लाको पूर्वी कर्णाली भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–९ पाँपुस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अत्यधिक चिसोका कारण पठनपाठन प्रभावित भएको छ । हिमाली क्षेत्रमा चिसो बढ्दै गएपछि विद्यार्थीहरू कक्षाकोठामा बस्न नसकी खुला चउरमै आगो बालेर ताप्दै अध्ययन गर्न बाध्य भएका छन् । कक्षाकोठामा आगो बाल्दा दुर्घटनाको जोखिम हुने भएकाले खुला स्थानमा धुनी जगाएर त्यसकै तातोमा विद्यार्थी पढाउने गरिएको विद्यालयले जनाएको छ । भौगोलिक अवस्थाका कारण विद्यालयमा बिहान करिब ८ बजे मात्र घाम लाग्ने र दिउँसो करिब १ बजेपछि घाम पूरै अस्ताउँछ । घाम अस्ताएसँगै कडा चिसो बढ्ने गरेको विद्यालय प्रशासनले जनाएको छ । यस्तो अवस्थामा कक्षाकोठामा अध्ययन–अध्यापन कठिन भएपछि आगो बालेर कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
हाल उक्त विद्यालयमा ८५ जना विद्यार्थी अध्ययनरत छन् । जाडो मौसम झन् बढ्दै जाँदा विद्यार्थीहरूको नियमित उपस्थितिमा कमी आउनुका साथै पठनपाठनको वातावरण झन् चुनौतीपूर्ण बन्दै गएको विद्यालयले जनाएको छ । चिसोका कारण साना कक्षाका विद्यार्थीहरू बढी प्रभावित भएका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्णबहादुर रोकायाका अनुसार कक्षाकोठामा न्यानोपनको कुनै व्यवस्था छैन । झ्यालढोका जीर्ण अवस्थामा हुनु, कक्षाकोठामा चिसो छिर्न नरोकिनु, तातो पानी तथा न्यानो बस्ने संरचनाको अभावले विद्यार्थीहरू समस्यामा परेका छन् । ‘न्यानो वातावरण नहुँदा बालबालिकाले ध्यान दिएर पढ्न सकिरहेका छैनन्,’ उनले भने ।
यसैगरी विद्यालयका प्रधानाध्यापक गोविन्दबहादुर रोकायाले चिसो मौसमका कारण विद्यार्थीको उपस्थितिमा कमी आउनुका साथै कक्षामा ध्यान केन्द्रित गर्न कठिन भइरहेको बताए । उनका अनुसार अत्यधिक चिसोले सिकाइ उपलब्धिमा नकारात्मक असर पारिरहेको छ । ‘चिसोका कारण कतिपय विद्यार्थी विद्यालय नै नआउने अवस्था छ । यसले पठनपाठनको निरन्तरतामा असर पारेको छ,’ उनले भने । चिसो मौसमलाई मध्यनजर गर्दै स्थानीय तह, अन्य सरोकारवाला निकायबाट तत्काल सहयोग र वैकल्पिक व्यवस्था आवश्यक रहेको उनी बताउँछन् ।
स्थानीय अभिभावकहरूले समेत चिसोका कारण विशेष गरी साना कक्षाका बालबालिकालाई विद्यालय पठाउन हिच्किचाउने अवस्था आएको गुनासो गरेका छन् । आगो ताप्दै पढ्नुपर्दा बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्न सक्ने चिन्ता उनीहरूको छ । हिमाली क्षेत्रमा चिसोको असरले बालबालिकाको स्वास्थ्य र शिक्षामा गम्भीर समस्या नआओस् भन्नका लागि विद्यालयमा न्यानो कक्षाकोठाको व्यवस्था, झ्यालढोका सुधार, वैकल्पिक सिकाइ समय निर्धारण तथा आवश्यक सामग्री उपलब्ध गराउन सरोकारवाला निकायको तत्काल ध्यान र पहल आवश्यक देखिएको स्थानीय बताउँछन् ।


तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
















