Opens in a new tab

अर्थ

काँकरभिट्टाबाट चार महिनामै ६ अर्ब दुई करोडको पेट्रोलियम पदार्थ भित्रियो

रासस
२०८२ मंसिर १८ | बिहान ०८:०८ बजे

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट ६ अर्ब दुई करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। यहाँबाट ६ अर्ब दुई करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात गरिएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार रुपैयाँ अर्थात् दुई दशमलव ०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ। आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् आठ करोड ४१ लाख २२ हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए।

चालु आवको चार महिनामा पेट्रोलियम पदार्थ आयातबाट दुई अर्ब ९६ करोड ८१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ। उक्त अवधिमा तीन अर्ब १० करोड ५४ लाख रुपैयाँ मूल्य पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात भएको थियो। यसैगरी एक अर्ब ७४ करोड ६८ लाख रुपैयाँ मूल्य पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ।

यस्तै, उक्त चार महिनाको अवधिमा ८२ करोड ६३ लाख रुपैयाँ मूल्य पर्ने आठ हजार ५५७ मेट्रिक टन एलपी ग्यास, २६ करोड ३३ लाख रुपैयाँ मूल्य पर्ने दुई हजार ९०८ किलोलिटर एटिएफ र चार करोड ६१ लाख रुपैयाँ मूल्य पर्ने ५०८ किलोलिटर मट्टितेल आयात भएको छ। 

कमेन्टहरु