समाज

चितवनमा बस्ती पसेको गैँडालाई स्थानान्तरण गरियो

रासस
२०८२ मंसिर १४ | मध्यान्ह ०४:०८ बजे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा पसेर स्थानीयलाई दुःख दिँदै आएको एउटा भाले गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गरिएकाे छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी क्षेत्रबाट सो गैँडालाई स्थानान्तरण गरिएकाे हाे ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अन्दाजी २५ वर्षको भाले गैँडालाई सौराहा सेक्टरको कुमरोज सामुदायिक वन क्षेत्रमा स्थानान्तरण गरिएकाे हाे । बस्तीमा पसेर बालीनाली नोक्सानी गर्ने, बाहिर मात्र बस्न खोज्ने भएकाले नागरिकको सुरक्षाका लागि उक्त गैँडालाई स्थानान्तरण गरिएकाे उनले बताए ।

उनले समुदायमा पसेर मानवीय क्षति गर्न सक्ने जोखिम बढेकाले स्थानान्तरण गर्नुपरेको बताए । गैँडालाई ‘डार्ट’ गरेर स्थानान्तरण गरिएकाे सूचना अधिकारी मगरले बताए । निकुञ्जले यसअघि पनि बस्ती पसेर स्थानीयलाई त्रास फैलाउँदै आएका गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गर्दै आएको उनले बताए ।

उनका अनुसार विगतका वर्षहरूमा निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या बढेपछि आन्तरिक रूपमा व्यवस्थापन गर्नका लागि स्थानान्तरण गरिँदै आएको छ ।

कमेन्टहरु