कोल्टी अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनर्स्थापन घुम्ती शिविर हुने


बाजुरा , मंसिर ८ । बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका कोल्टी आधारभूत अस्पतालमा अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनर्स्थापन घुम्ती शिविर हुनेभएको छ । १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूका लागि स्वास्थ्य शारीरिक अपाङ्गता पहिचान तथा पुनर्स्थापन घुम्ती शिविर सञ्चालन गरिनेछ ।
बुढीनन्दा नगरपालिकाको कार्यालय कोल्टी बाजुरा र विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र आयोजनामा हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिकाको समन्वय र सहयोगमा मंसिर २६ गते शुक्रवार बिहान ८ बजेबाट घुम्ती शिविर सञ्चालन गरिने भएको कोल्टी आधारभूत अस्पतालले जनाएको छ ।
घुम्ती शिविरमा जन्मजात वा पछि खुट्टाको पैतला भित्र वा बाहिर फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, भाँच्चिएको, बाङ्गो भएको वा हड्डी नजोडिएको , हड्डी पाकेर लामो समयदेखि पिप आइरहने, शरीरका विभिन्न जोर्नीहरू दुख्ने, सुन्निने, बाङ्गो भएको वा खुस्किएको, ढाड बाङ्गो वा कुप्रो भएकोलाई चेकजाँच गरिनेछ ।
त्यस्तै औलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, कृत्रिम अङ्ग र अर्थोपेडिक सहायक सामग्रीहरूको आवश्यकता भएको र ओठ तथा तालु फाटेकालाई समेत घुम्ती शिविरमा जाँच गरिने भएको छ । कोल्टी आधारभूत अस्पतालमा मंसिर २६ गते शुक्रवार घुम्ती शिविर संचालन हुने हुँदा शिविरबाट सेवा लिनुहुन सबैमा जानकारी गराएको छ ।



















