प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’


भोजपुर, कात्तिक २१। भोजपुरको हतुवागढी गाउँपालिका-१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेव थान’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । गाउँपालिकाले पछिल्ला वर्षमा संरक्षण र पूर्वाधार विकासको पहल थाले पनि अपेक्षित रूपमा पहिचान नपाएको स्थानीयको गुनासो छ । यो क्षेत्रको संरक्षण थाले पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको हो ।
गाउँपालिकाले महत्त्वपूर्ण धार्मिकस्थलका रूपमा यसको संरक्षणका साथै धार्मिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गरिरहेको अध्यक्ष राईले बताउनुभयो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्रका रूपमा यस क्षेत्रको विकास गरिरहेको जनाउँदै उहाँले यसबाट पर्यटन प्रवर्द्धनका साथै स्थानीयको आयस्तरमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
“यो हाम्रो गाउँपालिकाको एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल हो”, अध्यक्ष राईले भन्नुभयो, “यो क्षेत्रको विकासका लागि हामीले पूर्वाधार निर्माण, संरचना विस्तालगायत क्षेत्रमा काम गरिरहेका छौँ । यो प्रसिद्धस्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेकोले यसको प्रचारप्रसारमा जुटेका छौँ ।”
गुफाँसगै यहाँको बनावटले सबैलाई आश्चर्यचकित पार्ने स्थानीय लालबहादुर प्रधानले बताउनुभयो । यस मन्दिरको दर्शन गरेर मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेकाले भक्तजन यहाँ आउने गरेका उहाँको भनाइ छ । विगतमा ठूलो मेला लाग्ने गरेको भए पनि माओवादी द्वन्द्वकालपछि यहाँ मेला लाग्न बन्द भएको स्थानीय बताउँछन् ।
यहाँ बालाचतुदर्शीमा मेला लाग्नुका साथै भजनकीर्तन हुने गर्दछ । देवस्थलमा गुफासँगै विभिन्न देविदेवताको मूर्ति छन् । ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य मिसिएको यो स्थल गाउँपालिकाको पहिचान बन्ने सम्भावना बोकेको स्थानीयको भनाइ छ ।























