बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

रासस
२०८२ कार्तिक ४ | बिहान १०:०७ बजे

भोजपुर, कात्तिक ४ । बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया मङ्सिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ ।
बाँदरको हुल आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने र कतिपय बोट भाँचेर नोक्सान पुर्याउने गरेको स्थानीयहरूको भनाइ छ । भोजपुर नगरपालिका–५ बोखिमका किसान भीमप्रसाद फँुयालका अनुसार बाँदरको हुल दिनभर खेतबारी र बगैँचामा आउने भएकाले खेतीपाती जोगाउन निकै कठिन भएको छ । “बिहानदेखि बेलुकीसम्म बाँदरले बगैँचा सताउँछ”, उहाँले भन्नुभयो, “तर्साउन ढुङ्गा हान्ने गरे पनि नियन्त्रणमा आउँदैन । छिनभर बगैँचामा पस्यो भने सखाप नै पार्छ । फलफूल, अन्नबाली बोटमा पकाएर खाने अवस्था छैन ।”


















