तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै


काठमाडौँ, असोज २६। तिहार सुरु हुन अझै केही दिन बाँकी भए पनि सङ्घीय राजधानी काठमाडौँका विभिन्न स्थानका बजारमा अहिले किनमेल गर्नेको चहलपहल बढेको छ ।
उहाँले भन्नुभयो, “अहिले यहाँका बजारमा तिहारको किनमेल गर्नेका कारण रौनक बढ्दै गएको छ । तिहारका लागि समग्री किन्नेको दैनिक रूपमा चाप बढ्दै जान थालेपछि रौनक पनि बढ्दै गएको हो ।”
यसैगरी तिहारलाई लक्षित गर्दै यहाँका सानाठूला पसल तथा सपिङ सेन्टरसम्मले विभिन्न अफर र छुटसहित सामान बिक्रीमा राखेका छन् । साँझको समयमा यहाँका सडकछेउ र फुटपाथमा पनि तिहारका सामान सजाइएको देख्न सकिन्छ । जहाँ ग्राहकको घुइँचो देख्न सकिन्छ ।
विशेषगरी साँझपख र बिदाका दिनमा बजारमा सामान किन्नेको निकै चहलपहल देखिने गरेको सुन्धारास्थित फुटपाथमा लुगा व्यापार गर्दै आउनुभएकी शान्ति भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ लुगा किन्ने तथा झिलीमिली बत्ती र घर सजावटको सामान किन्नेहरू उल्लेख्य देखिने गरेका छन् । किनमेल गर्नेका कारण अहिले व्यापार पनि राम्रो चल्दै छ ।”
भाइटीकाको दिनमा प्रयोग हुने भाइमसला प्याक, ढाकाटोपी, टीका सेट, मिठाई र ‘गिफ्ट आइटम’को माग बढ्दै गएको इन्द्रचोकका कपडा व्यापारी अमिरमान श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विशेषगरी महिला र बालबालिकाका लागि आकर्षक लुगा तथा शृङ्गार सामग्री र तिहारमा चाहिने ढाकाटोपी, टीका सेटलगायत मिठाई पनि बढी बिक्री हुने गरेको छ ।”
चिसो बढ्न थालेपछि जाडोका कपडाको व्यापार बढ्न थालेको व्यापारीहरू बताउँछन् । अहिले यहाँका व्यापारीले जाडोलाई लक्षित गरेर सामान ल्याएर बिक्री गर्न थालेका छन् ।























