भाद्रकृष्णपक्ष पञ्चमी तिथिः कोलमतीघाटमा स्नान गरिँदै

रासस


काठमाडौँ, साउन २९। प्रत्येक वर्ष भाद्रकृष्णपक्ष पञ्चमी तिथिमा गरिने कोलमतीघाटमा स्नान आज गरिँदैछ ।
कागेश्वरी मनोहरा नगरपालिका–४ मा रहेको कोलमतीघाट र यहाँ स्नान गर्नुको महत्त्वका बारेमा स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड (नेपालमाहात्म्य) मा वर्णन गरिएको छ । बाग्मती नदीको तीरबारे वर्णन क्रममा १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिनुभयो ।
“कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरे बराबरको फल मिल्ने वर्णन गरिएको छ । कोललाई ‘बराह’ भनिएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई ‘कोलमती’ भनिएको हो, कोलमती बाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ”, उहाँले भन्नुभयो ।
कोलमती र बाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्त्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको ती ग्रन्थमा वर्णन गरिएको छ । चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ ।
यहाँ ब्रह्माले वामनरुपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई हाल पनि चौलनारायणका रूपमा पूजाआराधना गरिन्छ । नेपाल माहात्म्यको ३२औँ अध्यायमा सुन्दराचल क्षेत्रको वर्णन छ । त्यो क्षेत्र हालको सुन्दरीजल र त्यसको तल्लो भागमा पर्ने यो स्थल सुन्दराचलकै आधुनिक रूप हो भन्ने गरिएको छ । कोलमती, चैलमती र बाग्मती गरी तीन नदी मिसिएर त्रिवेणी सङ्गम बनेको र कोलमतीघाटमा सत्ययुगमा भगवान् विष्णुसमेत आएर स्नान गरेको प्रसङ्ग पनि विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । धार्मिक महत्त्व भए पनि गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र नजिकै रहेकाले कोलमतेश्वर क्षेत्र ओझेलमा छ ।


तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
















