कांग्रेस नेता महेश कोर्मोचाको निधन

नवलपुर टुडे


ओखलढुङ्गा । नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ । ओखलढुङ्गा जिल्ला विकास समितिका पूर्व सभापति एवं नेपाली कांग्रेसका पुराना नेता ८२ वर्षीय कोर्मोचाको उपचारका क्रममा गए राति काठमाडौँस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।
विसं २००२ मा ओखलढुङ्गाको खिजीचण्डेश्वरीमा जन्मिएका कोर्मोचा २०३१ सालको टिमुरबोटे काण्डमा बचेका थिए । उनले नेपाली राजनीतिको लामो समय योगदान गरे । विसं २००७ मा भएको क्रान्तिमा लगौँटीमा कांग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी पाएसँगै सुरु भएको उनको राजनीतिक यात्रा पछि उनी ओखलढुङ्गा जिल्ला पार्टीको सभापति र तत्कालीन जिल्ला विकास समितिको सभापति समेत बने ।
हजुरबुबा भूमिगत कांग्रेस कार्यकर्ता भएकाले घरैबाट २००७ सालको क्रान्तिको सुरुआत भएको बताउने महेश कोर्मोचालाई त्यो बेला लगौँटीमा कांग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध ‘कु’ गरेपछि गाउँ आतंकित भएसँगै प्रशासनसँग बच्न गाउँका १५ जना युवालाई लिएर कोर्मोचा ब्रिटिस आर्मीमा भर्ती हुन धरान गएका थिए । उनीसहित १५ जनामध्ये १४ जना भर्ती भएका थिए । ब्रिटिस आर्मीमा कोर्मोचाले आठ वर्ष सेवा गरेका थिए । त्यसपछि फौज कटौतीमा परेर जागिर छाड्नुपरेसँगै फेरि गाउँ फर्किएर राजनीतिमा सक्रिय भए ।
विसं २०२५ मा नेपाली कांग्रेसले सशस्त्र युद्धको घोषणा गरेपछि ब्रिटिस आर्मीमा काम गरिसकेका महेशको खोजी भएको थियो । त्यो आन्दोलनमा विभिन्न भूमिकामा रहेर कोर्मोचाले काम गरे। त्यसबेला सवारी चालक भएकोदेखि रक्सीको व्यापारसमेत गरेर सङ्गठन निर्माण गरेको इतिहास छ ।
विसं २०३१ पुस १ गते सोलु ब्यारेक कब्जा गर्ने योजनाअनुसार मङ्सिर २९ गते टिम्बुरबोटेको जङ्गलमा पुगेको कांग्रेसको टोलीमा कोर्मोचा पनि थिए । क्याप्टेन यज्ञबहादुर थापा नेतृत्वको टोली ओडारमा बस्ने र त्यहाँको गाउँठाउँ बुझेका महेश कोर्मोचा सल्लेरीसम्म पुगेर ‘रेकी’ गर्ने योजना बनेको थियो । बाँकी साथीलाई टिम्बुरबोटेको जङ्गलमा छाडेर कोर्मोचा राति नै सल्लेरीतर्फ लागेकाले भोलिपल्ट भएको टिमुरबोटे काण्डमा संयोगबस कोर्मोचा बच्न सफल भएका थिए । त्यसदिन टिम्बुरबोटेको ओडारमा १८ जना योद्धालाई एकै चिहान बनाइएको थियो ।
ओडारमा बसेका केही लडाकु भाग्न सफल भएका थिए । भाग्नेमध्येमा एक थिए क्याप्टेन यज्ञबहादुर थापा । उनी नेपाली सेनाका पूर्व क्याप्टेन थिए । नेपाली कांग्रेसले २०२५ सालमा सशस्त्र युद्धको घोषणा गरेपछि जागिर छाडेर विद्रोहमा लागेका थिए । टिम्बुरबोटे काण्डमा बचेका थापालाई २०३५ सालको माघमा कमला नदीको किनार पु¥याइ हत्या गरिएको थियो ।
विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी स्वदेश फर्किएपछि महेश पनि पक्राउ परेका थिए । राज्यविरुद्धको मुद्दामा उनी पटक–पटक गरी आठ वर्षको जेल जीवन बिताएका थिए । विसं २०४६ को बहुदलीय व्यवस्था पुनःस्थापनापछि कोर्मोचा दुई पटक जिविस सभापति र दुई पटक ओखलढुङ्गा कांग्रेसको सभापति भएका थिए ।
बाल्यकालदेखि आबद्ध रहेको कांग्रेस पार्टीमा ७० वर्ष बिताएका कोर्मोचाले २०७३ सालमा कांग्रेस परित्याग गरेर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएका थिए । नयाँ शक्ति त्यागेर विजयकुमार गच्छादार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको सहसंयोजक समेत बनेका कोर्मोचा पुनःकांग्रेसमै फर्किएर सक्रिय राजनीति गरिरहेका थिए । उनको जन्मथलो ओखलढुङ्गाकै खिजीचण्डेश्वरीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । कोर्मोचाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकनको तयारी

अन्ततः तीन आयोजनाको ठेक्का सम्झौता तोडियो

‘ह्युमन’ बन्यो सन् २०२६ को वर्ष शब्द

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने
अरुपनि पढ्नुहोस
सबै
इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

लुम्बिनी विकास काेषका नवनियुक्त उपाध्यक्ष आनीले आज कार्यभार सम्हाल्दै

घमाइलो मौसमसँगै लुम्बिनीमा पर्यटकको घुइँचो, मायादेवी मन्दिरमा लामो लाइन

एयर रुटभन्दा नियमित उडानलाई प्राथमिकता दिनुपर्नेमा जोड
















