मोरङ । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षा समेत हासिल गराएका छन् ।
चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो त हुँदैन, तर औषतमा दैनिक अढाइदेखि तीन सय कप चिया बिक्री हुन्छ । हाल ३० लिटर दूधको चिया बिक्री हुन्छ । सबै खर्च कटाएर मासिक कम्तीमा रू ५० हजार आम्दानी हुन्छ । २५ वर्षअघि पसल सुरू गर्दा दुई रूपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ । त्यसबेला प्रतिलिटर रू १३ मा किनेको दूध हाल रू ८० पर्छ, महँगी धेरै बढ्यो ।
कुनै पनि व्यवसाय इमान्दारीपूर्वक निरन्तर गरिरहने हो भने एक दिन अवश्य सफलता मिल्ने रहेछ स्वामकुमारीले बताइन् । ‘त्यसबेला जङ्गल गएर दाउरा ल्याइन्थ्यो, रू दुई सयमा एक रिक्सा दाउरा आउँथ्यो, अहिले ग्यास चुलोको प्रयोग गर्छौ’, उनी बताउँछिन् । स्थानीय नेता, समाजका अगुवा सबै चिया खान आउँछन् । समाजका हरेक सूचना पनि थाहा पाइन्छ । चिया पकाउँदा आम्दानी मात्र होइन, आदत नै बनिसक्यो खवास दम्पतीको । अझै शरीरले साथ दिइन्जेल चिया व्यापार गर्ने उनीहरू बताउँछन् ।
स्थानीय वलिराम राजवंशी ७६ वर्ष पुगिसके । उनी आधा घण्टा हिँड्दै उक्त पसलमा चिया पिउन आउँछन् । ‘वर्षौँदेखि उक्त होटलमा चिया खाने बानी परेकाले बूढो भए पनि घरको चियाले धित मर्दैन’, राजवंशी भन्छन् । बुबाकै पालादेखि डाँगीहाटमा चिया खाइरहेको छु । बुबाको जमानामा भारू पैसा चल्थ्यो, त्यसबेला दुई आना कप चिया रहेको याद छ । बुबासँगै आएर चिया खाने बानी पर्यो राजवंशी बताउँछन् ।

























