सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ

तनहुँ, पुस २५ । जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका-७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् ।
“घरमा चिठी पठाउँदा नबुझ्ने र उल्टै कर्मचारीलाई धम्काएर पठाउने गरेपछि बाध्य भएर सञ्चालक समितिले कानुनी प्रक्रिया अगाडि बढाएर जग्गा लिलामी गरेको थियो”, उहाँले भन्नुभयो । सहकारीका अध्यक्ष श्रेष्ठले सञ्चालक समितिले गरेको निर्णय प्रबन्धकले कार्यान्वयन गर्ने कानुनी प्रक्रिया रहकाले वडाध्यक्ष श्रेष्ठले प्रबन्धकलाई हातपात गर्नुभएको उल्लेख गर्नुभयो ।
सोमबार बिहान ९ बजे खाना खाइरहेको ठाउँमा आएर आँफू र आफ्नो परिवारलाई पाँच जनाले कुटपीट गरेको सहकारीका प्रबन्धक रामबाबु गैह्रेले जानकारी दिनुभयो । परिवार माथि साङ्घातिक हमला भएपछि सबै जना त्रासमा बस्नुपरेको उहाँले बताउनुभयो ।
पक्राउ परेका वडाध्यक्ष श्रेष्ठसहित पाँच जनालाई जिल्ला अदालत कार्यालयबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो ।























