छात्रवृत्ति रकम अनियमितताः कोशी गापाले लिएन ‘एक्सन’

नवलपुर टुडे


देवराजा यादव
भन्टाबारी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित सप्तकोशी मा.वि.ले शैक्षिक सत्र २०८०/०८१ मा दिनुपर्ने छात्रवृत्ति रकम अपचलन गरे पनि सम्बन्धित गाउँपालिका कोशीले कुनै ‘एक्सन’ लिएको छैन । एक स्रोतका अनुुसार फर्जी बिल भर्पाइ पेस गरी रकम अपचलन गरेको जनाएको छ ।
स्कुलका तीन सय ४० जना विद्यार्थीलाई चार सय रुपैयाँका दरले दिनुपर्ने छात्रवृत्ति रकम ९ महिना बितिसक्दा पनि गाउँपालिकाले एक्सन नलिएको हो ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (ज) को १६ मा निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापनको जिम्मा नगरलाई तोकेको छ । सोही दफाको (ज) को २१ मा सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय–व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन गर्न सकिने व्यवस्था उल्लेख छ ।
तर गाउँपालिकाले सशर्त अनुदान रकमबारे हालसम्म चासो नदेखाएको हो । ‘हामीले भर्खरै थाहा पायौँ, बुझ्छौँ, त्यसपछि मात्रै के रहेछ भनेर कारबाही प्रक्रिया अगाडि बढ्छ’–गाउँपालिकाका प्रमुख ऐयुव अन्सारीले फोनसम्पर्कमा भने । के कति कारणले छात्रवृत्ति रकम नदिइएको हो भनेर हालसम्म गाउँपालिकाले ताकेता नगर्दा स्कुल प्रशासनले मनमौजी रकम खर्चिएको छ ।
गाउँपालिकाले चासो नदिँदा त्यहाँका विद्यार्थीहरूले पाउनुपर्ने रकम पाउन सकेका छैनन् । अभिभावकहरूले यसअघि ब्लाष्टकर्मीलाई भनेका थिए, ‘हाम्रा विद्यार्थीहरूले अहिलेसम्म छात्रवृत्ति पाएका छैनन् । हेडसरलाई सोध्दा कुनै जवाफ आउँदैन ।’ गाउँपालिका प्रमुख अन्सारीले आफूहरूले यसबारे तीन–चार दिनअघि मात्रै थाहा पाएकाले बुझ्ने काम भइरहेको बताए । स्कुलले छात्रवृत्तिमार्फत्को एक लाख ३६ हजार आठ सय रुपैयाँ अपचलन गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहाललाई यसबारे बुझ्दा ‘त्यो विषय अनियमित भयो भने अख्तियार जाँदा भो नि त’ भनी जवाफ फर्काएका छन् ।‘म फिल्डमा निस्केको छु । शिक्षा शाखाका मदन पाण्डे र बाबुराम कार्कीलाई बुझ्नुस्’ उनले भने, ‘अनियमित भयो भन्ने लाग्छ भने अख्तियारमा पुग्ने हो ।’ यस विषयमा बुझ्न शिक्षा शाखाका अधिकारीहरूलाई मोबाइल तथा टेलिफोनबाट पटक–पटक फोन गरे पनि फोनसम्पर्कमा आउन चाहेनन् । यता स्कुलका प्रधानाध्यापक कैलाश झालाई यसबारे थप कुरा बुझ्नका लागि फोन गरिएको थियो । उनले पनि फोन उठाउने कष्ट गरेनन् । यसअघि ब्लाष्टसँगको फोनसम्पर्कमा उनले विद्यालय व्यवस्थापन समितिको निर्णयमा रकमान्तरण गरेर स्कुलका निजी शिक्षक र कर्मचारीलाई तलब वितरण गरेको दाबी गरेका थिए ।
तर, रकमान्तर गर्ने निर्णय गरेको पत्र ‘ब्लाष्टलाई उपलब्ध गराउन’ आग्रह गर्दा प्रअ झाले हालसम्म उपलब्ध गराउन सकेका छैनन् । स्थानीय तहहरूमा कार्यरत शिक्षा शाखाका प्रमुखहरूलाई छात्रवृत्ति रकमबारे बुझ्दा छात्रवृत्ति रकम सशर्त अनुदानअन्तर्गत पर्ने भएकाले उक्त रकम जेमा खर्च गर्नू भनिएको हुन्छ सोभन्दा अन्यत्र खर्च गर्न नपाइने व्यवस्था रहेको बताए । विद्यार्थीहरूलाई आएको रकम सम्बन्धित विद्यार्थीको नाममा नै हुने भएकाले अन्य विद्यार्थीलाई दिन पनि नमिल्ने उनीहरू बताउँछन् ।यता गाउँपालिकाका प्रमुख अन्सारीले भने, ‘पैसा सिधै विद्यालयको खातामा जाने हो ।
हेडमास्टरहरूले बेलैमा कार्यक्रम गरेर वितरण गर्नुपर्छ । त्योबारे हामीले भर्खरै थाहा पायौँ ।’ उनले निजी शिक्षक तथा कर्मचारीको हकमा गाउँपालिकालाई समस्याबारे जानकारी गराउनुपर्ने बताए । स्थानीय सञ्चारकर्मी देवराज यादवले मङ्गलबारसम्म छात्रवृत्ति रकम दिएको भन्ने आफूले थाहा नपाएको बताए । उनले फोनसम्पर्कमा भने, ‘दाइ, अहिलेसम्म रकम दिएको रैनरैछ ।’
उक्त रकम शिक्षकलाई तलब खुवाए नखुवाएको पनि हालसम्म पुष्टि हुन सकेको छैन । सोही क्षेत्रमा काम गरेर हालै सरुवा भएका एक कर्मचारीले भने, ‘छात्रवृत्तिको पैसा नै प्रअले निकालिसकेको छ । हाल खातामा पैसा पनि नभएको र बालबालिकाले छात्रवृत्ति पनि नपाएको अवस्था छ ।’ उनले थप भनेका छन्, ‘फर्जी भर्पाइ पेस गरेको छ । शिक्षक सङ्ख्या फालाफाल छ । शिक्षकलाई दिनुपर्दैन ।’ सोही विद्यालयमा कार्यरत एक शिक्षकले पनि हालसम्म छात्रवृत्तिको रकम वितरण नगरेको बताए।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















