स्वर्णलक्ष्मी सहकारी संस्थाका पाँच हजार ६ सय ६९ जना बचतकर्ताको दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रूपैयाँ रकम अपचलन गरेको भन्दै अभियुक्त ४४ जनालाई प्रतिवादी बनाउने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको हो। स्वर्णलक्ष्मी सहकारीबाट हर्बो इन्टरनेसनल प्रालि, गोर्खा मिडिया नेटवर्कसहित १२ वटा कम्पनीमा सहकारी ऐनविपरीत ऋण प्रवाह भएको अनुसन्धानबाट खुलेको छ।
स्वर्णलक्ष्मी सहकारीका सञ्चालकले सर्वसाधारणको निक्षेप हिनामिना गरेको भन्दै २०८१ वैशाख १६ मा बचतकर्ताले प्रहरीमा जाहेरी दर्ता गराएका थिए। उक्त सहकारीले दुई वर्षदेखि बचत रकम फिर्ता नगरेपछि बचतकर्ताले कालीमाटी प्रहरी वृत्तमा जाहेरी दर्ता गराएका थिए। बचत रकम फिर्ता नगरी सञ्चालकहरू फरार भएको भन्दै बचतकर्ताले आन्दोलनसमेत गरेका थिए।




















