Opens in a new tab

समाचार

बाख्रा पालेर वार्षिक पाँच लाख बढी आम्दानी

दिप्शन गुरुङ
२०८१ पुस १८ | मध्यान्ह ०३:०९ बजे

दाङ । दाङको घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाख ५० हजार आम्दानी गर्दै आएका छन् । उनले प्रकृति बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका हुन् ।

खनालले बाख्राका लागि दिउँसो र रातमा बस्ने व्यवस्थित खोर बनाएका छन् । ‘अहिले सोचे जति नाफा नभए पनि लगानी भने उठिरहेको छ, वार्षिक रु पाँच लाख ५० हजारसम्म आम्दानी हुन्छ । घर खर्च यसैबाट चलेको छ, बचत भने खासै भएको छैन’, उनले भने, ‘युवाले स्वदेशमा नै निरन्तर मेहनत गर्ने हो भने सफलता अवश्य हात लाग्छ ।’

खनालले बाख्रालाई खुवाउन १२ कठ्ठामा वर्षिम, पाँच कठ्ठामा जौँ र १० कठ्ठा जमिनमा नेपियर घाँसखेती गरेका छन् ।उनले एक जना सहयोगी पनि राखेका छन् । एक सय वटा माउ बाख्रा पाल्ने र एक वर्षमा एक सय खसी उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । ‘पछिल्लो समय रोजगारीका लागि विदेश जाने युवाले यहाँ केही गर्नुपर्छ अर्काको देशमा बगाउने पसिना आफ्नै भूमिमा बगायो भने यही सुन फल्छ’, खनालले भने । आफ्नै जमिनमा लगानी गरी खोर तयार गरेर बाख्रापालन सुरु गरेको उनले बताए ।

सङ्घ, प्रदेश र स्थानीय तहले किसानलाई सहयोग गरेको भन्ने सुने पनि आफूले अहिलेसम्म कुनै निकायबाट सहयोग नगरेको उनले गुनासो गरे । ‘लगानी लगाउने वित्तिकै आम्दानी वा नाफा खोज्नु हुँदैन, धैर्य गरेमा सफल भइन्छ । निरन्तर मेहनत भने गर्नुपर्छ’, खनालले भने । हालसम्म १२ लाख लगानी गरेर व्यवस्थित दुई वटा खोर बनाएको बताउँदै उनले गत दसैँमा मात्र रु पाँच लाख ५० हजारको खसीबोका बेचेको जानकारी दिए । एउटा खसीलाई रु ६० हजारसम्म बाख्रा बिक्री गरेको उनले उल्लेख गरे ।

अहिले खोरमा बिक्री गर्न १५ वटा खसीबोका तयार रहेका खनालले बताए । दाङसहित रोल्पा, रुकुम र प्यूठानबाट पनि ग्राहक बाख्रा खोज्न आउने उनले उल्लेख गर्दै भने, ‘बाख्रा खरिद गर्न व्यापारी घरमा आउँछन्, गत दसैँमा मात्रै रु पाँच लाख ५० हजारको खसीबोका बिक्री भएको थियो ।’ यो वर्षको विस्तारै आम्दानी बढ्ने अपेक्षा रहेको बताउँदै खोर बनाउँदाको रकम चुक्ता भएपछि मुनाफामा जाने उनले उल्लेख गरे ।

आम्दानी बढ्दा लगानी पनि बढाउन मन लाग्ने भन्दै उनले स्थानीय निकायले आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । स्वदेशमै केही गर्न चाहने किसानले उत्पादन गरेका वस्तुलाई सरकारले अनुदानका कार्यक्रममा जोेडेर सहयोग गरेमा काम गर्न अझै हौसला मिल्ने उनको भनाइ छ ।

कमेन्टहरु