सुनसरीको धरानस्थित एक चर्चमा बालिकाको नाङ्गो भिडियो बनाएको उजुरीबारे प्रहरी बेखबर


सुनसरी । सुनसरीको धरानस्थित एक चर्चमा नाटक देखाउने भन्दै बालिकाको नाङ्गो भिडियो बनाएको भनि जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी परेको छ । भिडियो बनाउनेलाई कारबाही गर्न र आफूहरूप्रति न्याय दिलाउन माग गर्दै पीडित बालिकाहरूले प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।
उजुरीमा क्रिसमस डेको समयमा धरान होसना बापटिस चर्चमा प्रभुको सृष्टि नाटक देखाउने क्रममा नाङ्गो भिडियो खिचेर सामाजिक सञ्जालमा हालिएको र नाटक देखाउने समयमा यौन शोषण भएको उल्लेख छ । ‘नाटक देखाउने क्रममा बगैँचामा डुल्ने वेलामा नाङ्गो डुल्नु भनेर हामीले नमान्दा नमान्दै जबरजस्ती कपडा खोल्न लगाइयो । नाटकको तयारी थाल्दा एक्लै कोठामा जबरजस्त गर्ने, शरीर छाम्ने, गोप्य अङ्ग हुने गर्दा धेरै पटक यसो नगर्नु भन्दा यशुले तिमीहरूलाई मुक्ति दिनुहुन्छ भनेर फकाइयो ।
नाटकको अन्तिम दिन तिमीहरूले यशुसँग जे मागे त्यही दिनुहुन्छ भनेर फकाइयो,’ निवेदनमा उल्लेख छ, ‘हाल हाम्रो भिडियो धेरै साथी र परिवारलाई पठाएर हामीलाई ज्यादै मानसिक तनाव भएको छ । हिजोआज पढ्न, निदाउन र खानपिन गर्न पनि धेरै मानसिक तनाव भएको छ । हाम्रो भिडियो पोर्न साइटमा पनि राखेर बेइज्जत भएको छ ।’ बालिकामाथि अन्याय भएको भन्दै यस कार्यमा संलग्न चर्चका पाष्टरलाई कारबाही गर्नुपर्ने माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीलाई दिएको निवेदनको बोधार्थ राष्ट्रिय महिला आयोगलाई पनि दिइएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि उजुरी नपरेको बताए । सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले आफूले पनि सामाजिक सञ्जालमा चर्चा भएको सुनेपछि आवश्यक अनुसन्धानका लागि मातहतमा निर्देशन दिएको बताए । यद्यपि कुनै उजुरी वा निवेदन नपरेको उनले बताए । जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको रहेछ नि भन्ने प्रश्नमा उनले भने, ‘मलाई त्यसखालको निवेदन परेको जानकारी छैन ।’
प्रमुख जिल्ला अधिकारीले पनि आफूलाई निवेदन परेको वा नपरेको विषयमा केही नभनेको उनले बताए ।























