युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ


विराटनगर, पुस १० । मोरङको कटहरी गाउँपालिका–२ मा अचेत अवस्थामा फेला परेकी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा १ जना भारतीय नागरिक हुन् ।
मंगलबार मोरङको जहदा गाउँपालिका–३ की २३ वर्षीय युवती घरदेखि करिब २ किलोमिटर टाढा कटहरी गाउँपालिका–२ मा पर्ने खेतबारीको बीचमा रहेको बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन् ।
अचेत अवस्थामा भेटिएर उद्धार गरिएकी महिलाको बयानका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान, सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जार छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताए ।























