पोखरास्थित बलिदानी सहकारी प्रकरणः कर्जा अधिकृत पनि पक्राउ


पोखरा । बलिदानी बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीका कर्जा अधिकृतलाई पक्राउ गरेको हो। स्याङ्जाको हरिनास गाउँपालिका–३ घर भई हाल पोखराको आलुमाइलाचोक बस्ने २९ वर्षीय नविन भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए।
भण्डारी सोमबार पोखराको पृथ्वीचोकबाट पक्राउ परेका हुन्। उनलाई मंगलबार जिल्ला अदालतमा मुद्दामा अभियोगपत्र माग दाबीअनुसार सजायका लागि उपस्थित गराइएको छ। बचतकर्ताको रकम अपचलनमा पोखरा महानगरपालिका–२३ कार्कीको तगरामा रहेको संघर्षशील बचत तथा ऋण सहकारी संस्था जोडिएको हो। बचतकर्ताको रकम हिनमिना गरेर ठगी गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पक्राउ गरेर सार्वजनिक गरेको थियो।
सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गर्न सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराकाले आइतबार पत्राचार गरेको थियो। त्यसपछि सहकारीका अध्यक्ष ३३ वर्षीय विक्रम पाण्डे र सचिवसमेत रहेका व्यवस्थापक कमल सुवेदीलाई पक्राउ गरेको हो। प्रहरीले सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाएका पीडित बचतकर्तालाई जाहेरी दिन अनुरोध गरेको छ। मुद्दाको हदम्यादलाई मध्यनजर गरेर पुस २० गतेभित्र पीडित बचतकर्तालाई जोहरी दर्ता गर्न प्रहरीको अनुरोध गरेको हो।























