अपराध

सिरहामा ट्रकसँग ठोक्किएको कारबाट १३० किलो गाँजा बरामद, कारका चालक फरार

नवलपुर टुडे
२०८१ मंसिर ३० | बिहान ०६:०८ बजे

सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको जिरोमाइलमा दुर्घटना भएको एक कारबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलमा ना ३ ख ७५९१ नम्बरको ट्रक र बा ८ च ९९६३ नम्बरको आज बेलुकी ६ बजेर ५० मिनेटमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवम् डिएसपी विरेन्द्र कुमार पासवानका अनुसार कारबाट पाँच वटा प्लास्टिकको बोरामा प्याक गरिएको अवस्थामा १३० किलो गाँजा बरामद भएको छ । कारका चालक फरार छन् भने ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका १० बालचनपुर बस्ने सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार विराटनगरबाट रौतहट जाँदै गरेको ट्रक र कोरोना बजारबाट जिरो माइलतर्फ आउँदै गरेको कार पूर्वपश्चिम राजमार्गको जिरोमाइलमा ठोक्किएका थिए । स्थानीयका अनुसार दुर्घटना भएलगत्तै कार चालकले कारको नम्बर प्लेट र गाँजा निकालेर ट्याक्सीमा चढेर भाग्न खोजेका थिए । तर स्थानीयहरु भेला भएपछि उनी सबै छाडेर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी पासवानका अनुसार कार कसको हो र गाँजा कहाँबाट कहाँ लगिँदै थियो भन्ने खुलिसकेको छैन । ‘कारको अगाडि–पछाडिबाट नम्बर प्लेट फुकालिएको अवस्थामा फेला परेको छ, सक्कली नम्बर प्लेट रहेछ भने पत्ता लागिहाल्छ’ उनले भने, ‘चालकको खोजी र घटनाबारे अनुसन्धान गरिरहेका छौं ।’

कमेन्टहरु