मोटरसाइकल चोरी आरोपमा दुईजना पक्राउ


नवलपरासी, मसिर ४ । पश्चिम नवलपरासीमा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा रुपन्देही जिल्ला ओमसतिया गाउँपालिका- ५ बस्ने बर्ष २४ को सद्दाम भन्ने मोहमद हुसेन र सोही स्थान बस्ने बर्ष २९ को गोबिन्द हरिजन रहेका छन ।
हुसेनको साथबाट बरामद चोरीको मोटरसाइकल लु९३प८१०९ नम्बरको १२५ सिसिको रातो कालो पल्सर हरिजनको साथबाट लु८२प५८७३ नम्बरको १५० सिसिको रातो कालो पल्सर र मोबाइल ३ थानसमेत बरामद गरिएको छ ।
उनीहरुले मंसिर २ गते राति नवलपरासी (ब.सु.प.) सरावल गाउँपालिका- १ बासा र नयाँटोलबाट घरमा पार्कीङ गरी राखेको मोटरसाइकल चोरी गरेका थिए । उनीहरु दुबैजना यसअघिसमेत मोटरसाइकल चोरीमा संलग्न कसुरमा सजाय भुक्तान गरेको पटके कसुरदार रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चोरीको सुचना प्राप्त हुन साथ तत्काल प्रहरी टोली खटिगई सिसिटिभि फुटेज तथा GPS Tracking समेतको आधारमा पिछा गर्दै जादा रुपन्देही जिल्ला रोहिणी गाउँपालिका- ३ बाट चोरी भएको मोटरसाइकलसहित निजहरुलाई पक्राउ गरिएको कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
पक्राउ परेका आरोपितहरुलाई चोरी तथा डाका सम्वन्धी कसुर मुद्दामा अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको बोहराले बताए ।






















