मेडिकल व्यवसायी दुर्गा प्रसाईंका २५ जना आन्दोलन परिचालन समितिका सदस्यहरू नियन्त्रणमा


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरबाट प्रहरीले २५ जनालाई नियन्त्रणमा लिएको छ ।आज (मंगलबार) बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले प्रसाईंलाई घरबाट नियन्त्रणमा लिएको थियो ।
सीआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले प्रसाईंको घरबाट तीन वटा ल्यापटप र ९ वटा मोबाइल सेट पनि बरामद गरिएको जानकारी दिएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोली पनि प्रसाईंको घरमा पुगेको थियो । प्रसाईंको घरबाट प्रहरीले थप २५ जनालाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
जसमध्ये १५ जनालाई प्रहरीले मंगलबार साँझ नै छाड्ने तयारी छ । बाँकी १० जनामाथि भने थप अनुसन्धान हुनेछ । नियन्त्रणमा रहेकाहरू आन्दोलन परिचालन समितिका सदस्यहरू रहेको र उनीहरूसँग सोधपुछको काम भइरहेको छ उनले बताएका छन् । प्रसाईंले मंसिर ७ गते काठमाडौंमा आन्दोलन गर्ने तयारी गरेका थिए।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट ‘प्रमाण’ प्रसाईंले सार्वजनिक गरेका थिए । प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि सिआइबीले मंगलबार प्रसाईंलाई पक्राउ गरेको थियो ।
प्रसाईमाथि अहिले विद्युतीय इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्ने प्रहरीको भनाइ छ। उनीमाथि साइबर ब्युरोले अनुसन्धान गर्नेछ । विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएकाले थप प्रमाण भेटिनसक्ने हुँदा घरबाट अन्य विद्युतीय सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रसाईंबाट बरामद ल्यापटप र मोबाइललाई जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाउने तयारी छ । डीएफएलबाट ल्यापटप र मोबाइलमा डिलिट भएका विवरण पनि रिकभर हुन्छन् ।






















